काठमाडौं। सरकारी अवरोधका कारण भक्तपुर नगरकोटमा निर्माण सम्पन्न भएको एसियाकै दोस्रो लामो ‘सुपरम्यान जिपलाइन’ दुई वर्षदेखि अलपत्र परेको छ।
नेपाली सेनाको तालिम केन्द्र नजिकै सुपरम्यानसहित अन्य खेल सञ्चालन हुँदा असहज हुने भन्दै सरकारले तत्कालका लागि सञ्चालनमा रोक लगाएको हो। जसका कारण निर्माण पूरा भएको दुई वर्षदेखि सुपरम्यान जिपलाइन अलपत्र छ।
नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको उक्त सुपरम्यानमा दुई वर्षअघि नै ६ करोड रुपैयाँ लगानी भएको थियाे। २०७७ सालमै निर्माण पूरा भएको र २०७८ वैशाखमा उद्घाटन गर्ने गरी संरचना तयार भए पनि अन्तिममा रोकिएको थियो।
काभ्रे धुलिखेलमा जिपलाइन सञ्चालन गर्दै आएका केदार थापाले नै नगरकोटमा सुपरम्यानसँगै रेस्टुरेन्टसमेत निर्माण गरेका थिए। निर्माण सुरु गर्दा सबै क्षेत्रबाट अनुमति लिए पनि सञ्चालन गर्ने बेला सेनाले केही विषयमा छलफल गर्नुपर्ने र केही सुधार गर्नुपर्ने भन्दै रोक लगाएको थियो।
सञ्चालक थापाले निर्माण पूरा भएको संरचना सञ्चालनमा आवश्यक समन्वय भइरहेको जानकारी दिए। सुपरम्यान निर्माण गर्दा कुनै पनि क्षेत्रमा समस्या नपर्ने गरी निर्माण गरिएको दाबी गर्दै नेपाली सेनासँग आवश्यक छलफल गरेर समाधान निकाल्न लागिरहेको बताए। ‘नेपाली सेनाले सोमबार यसै विषयमा छलफल गर्न बोलाएको छ,’ थापाले भने, ‘सम्भवतः यही साताबाट परीक्षण हुनसक्छ।‘
सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने सुपरम्यान रोकिएको बारेमा आफूलाई जानकारी नभएको बताए। ‘नगरकोटमा सेनाको तालिम केन्द्र रहेकाले केही समस्या आएको हुनसक्छ,’ प्रवक्ता भण्डारीले भने, ‘त्यही भएर रोकिएको हुनसक्छ, छलफल गरेर निकास निस्किन्छ।’ नगरकोटमा आन्तरिक एवं वाह्य पर्यटक चाप अत्याधिक हुने भएकाले त्यसैलाई ध्यानमा राखेर सुपरम्यान सञ्चालनको तयारी गरिरहेको सञ्चालक थापाले बताए। वाह्य पर्यटकको ध्यानमेत यसले आकर्षण गर्ने उनको अपेक्षा छ।
अहिलेसम्म सञ्चालनमा रहेका जिपलाइन, बन्जिजम्प र स्काइ साइक्लिङ ९० प्रतिशत आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन्। नगरकोटको सुपरम्यानमा भने आन्तरिकसँगै वाह्य पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको दाबी छ। सुपरम्यानको दैनिक क्षमता ३ सयजना हुनेछ।
अन्तर्राष्ट्रिय पर्यटक जमघटसमेत त्यहाँ हुने भएकाले यसलाई विशेष महत्वसाथ हेरिएको छ। नगरकोट जिपलाइन प्रालिद्वारा निर्माण भइरहेको उक्त सुपरम्यान आगामी जेठभित्र सञ्चालनमा आइसक्ने छ। पर्यटकीयसँगै साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) ले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य रहेको थापाले बताए।
नगरकोटमै थापाको समूहले एडभेन्चर पार्कसमेत निर्माण गरेको छ। त्यहाँको बोजिनी ड्याममा उडी एडभेन्चर प्रालिले २ सय रोपनी क्षेत्रफलमा पार्क निर्माण गरेको हो। पार्कभित्र रुखमै सुत्ने, बस्ने र खेल्न मिल्ने खेल (क्यानोपी वाक) निर्माण गर्ने काम पनि रोकिएको छ। पोखरीमा बोटिङ गर्ने, स्काइ साइक्लिङ, रुखैरुखमा खेल्ने करिब २५ थरीका एडभेन्चर पार्कसमेत निर्माण गर्ने तयारी छ।