काठमाडौं। नेपाल भित्रिने र बाहिरिने रकम (शोधनान्तर) स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचत भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्ष ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै भुक्तानी सन्तुलनमा व्यापक सुधार आएको जनाएको छ।
गत वर्ष पुसमा यस्तो भुक्तानी सन्तुलन २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा थियो। गत वर्षदेखि निरन्तर घाटामा रहेको भुक्तानी सन्तुलन चालू वर्ष असोजदेखि सकारात्मक देखिन थालेको हो।
असोजमा १२ अर्ब ४३ करोडले भुक्तानी सन्तुलन भएको हो। खासगरी गत वर्ष पुसदेखि विभिन्न वस्तुमा लगाइएको आयात प्रतिबन्ध र सामान आयात गर्दा सतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण बिस्तारै आयात निरुत्साहित हुँदा भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पर्न थालेको हो।
यद्यपि, चालू पुसबाट सबै प्रकारका वस्तु तथा सेवा आयातमा लगाइएको प्रतिबन्ध र नगद मार्जिन व्यवस्था हटेको छ। त्यसको प्रभाव आगामी दिनमा देखिन सक्छ।
अर्कातिर, विश्वव्यापी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरले उस्तै सामान ल्याउँदा पनि बढी भुक्तानी दिनुपर्ने स्थितिले शोधनान्तर स्थिति चापमा राखेको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आउँदा त्यसले आयातित सामानको मूल्यमा समेत कमी ल्याएको छ।
जसले विगतमा तिरिएको मूल्यभन्दा कम मूल्यमै सामान आयात हुने स्थिति छ। यसको असर मूल्यवृद्धिमा समेत देखिएको छ। गत भदौमा ८.६४ प्रतिशत पुगेको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक पुसमा आइपुग्दा ७.२६ प्रतिशतमा झरेको छ।
यद्यपि, गत वर्ष पुसमा यस्तो मूल्यवृद्धि ५.६५ प्रतिशत थियो। यससँगै विप्रेषण (रेमिट्यान्स) आप्रवाह उच्च वृृद्धिको प्रभाव भुक्तानी सन्तुलनमा र विदेशी विनिमय सञ्चितिमा पनि देखिएको छ। पछिल्लो ६ महिनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो वृद्धि नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशत थियो।
विदेशी विनिमय सञ्चिति पनि १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष पुसमा यस्तो सञ्चिति ९ अर्ब ८९ करोड थियो।
यो वर्ष आयात र निर्यात दुवै घटेका छन्। जसले कुल व्यापार घाटा पनि घट्न पुगेको छ। गत वर्ष पुसमा ५१.१ प्रतिशतको वृद्धि रहेको आयात चालू पुसमा २०.७ प्रतिशतले घटेको छ। त्यस्तै गत वर्ष ९५.५ प्रतिशतले बढेको निर्यात पनि चालू पुसमा ३२ प्रतिशतले घटेको छ। निर्यात न्यून रहेकाले त्यसले व्यापार घाटामा ठूलो योगदान गर्दैन।
पुसमा ८० अर्ब ८१ करोडको निर्यात हुँदा ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ। खासगरी यस अवधिमा सवारीसाधन, स्पेयर पार्ट्स, एमएस बिलेट, चाँदी, दूरसञ्चार उपकरण तथा पाट्र्स औषधीलगायत वस्तु आयात घटेका छन्। यी कतिपय वस्तु आयात गत मंसिरसम्म प्रतिबन्धित थिए। पुसबाट खुला गरिए पनि तत्कालै आयातमा देखिने सम्भावना नरहेकाले आयात खुम्चिएको हो।
निर्याततर्फ पनि विगतमा सोयाबिन तेल र पाम तेल आयात गरी प्रशोधन गरेर निर्यात गर्ने हुँदा निर्यातको हिस्सा बढेको थियो। तर, भारतले सोयाबिन तेल र पाम तेल आयातमा कडाइ गरेका कारण नेपालबाट प्रशोधित तेल निर्यात नहुने हुँदा आयात हिस्सा पनि घट्न पुगेको छ।
समग्रमा विदेशी विनिमय सञ्चितिले १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्यात देखिन्छ। यो नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सहज स्थिति हो। तर, माघदेखि देखिने आयात र रेमिट्यान्सको ‘रफ्तार’ कस्तो हुन्छ, त्यसआधारमा मुलुकको वाह्य पक्ष निर्धारण हुनेछ।