काठमाडौं। मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीचे बढ्दो युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछालले सुनको बजारमा अप्रत्यासित प्रभाव पारेको छ। भू-राजनीतिक अस्थिरताका बेला सामान्यतया सुरक्षित लगानी मानिने सुनको भाउ बढ्नुपर्नेमा, यस पटक ठ्याक्कै उल्टो प्रवृत्ति देखिएको छ।
फागुनको तेस्रो साता नेपाली सुनचाँदी बजारमा प्रतितोला तीन लाख २९ हजार रुपैयाँसम्म कारोबार भएको सुनको मूल्य अहिले (चैत ८ गते) २ लाख ७५ हजारमा झरेको छ। अन्तर्राष्ट्रिय स्तरको भू-राजनीतिक अस्थिरताले सुनका लगानीकर्ता अन्यत्र क्षेत्रमा लाग्दा मूल्य ओरालो लागेको हो।
यही क्रममा सुनको मूल्य ओरालो लागे आगामी १५ दिनभित्र नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार रुपैयाँसम्म झर्न सक्ने प्रक्षेपण नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन्।
‘तेलको मूल्य बढेपछि भौतिक सुनको तुलनामा त्यतातिरको प्रतिफल बढी देखिन थालेको छ, लगानीकर्ताहरू फिजिकल सुनभन्दा तेल र अनलाइन कारोबारतर्फ सिफ्ट भएका छन्,’ महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले क्यापिटल नेपालसँग भने, ‘अहिलेको घट्दो ट्रेन्ड जारी रहे सुनको मूल्य आगामी १०/१५ दिनमै करिब दुई लाख ५० हजारसम्म झर्ने सक्छ।’
डलर बलियो हुँदा विश्व बजारमा सुनको आकर्षण कम हुने गर्दछ। जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढेपछि ठूला लगानीकर्ताले आफ्नो लगानी सुनबाट झिकेर तेल र अन्य अनलाइन कमोडिटी मार्केटमा स्थानान्तरण गरेका छन्। यसले सुनको माग र मूल्य दुवैमा गिरावट आएको हो।
साथै, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर उच्च राख्ने संकेत गरेपछि डलर बलियो भएको छ। डलर बलियो हुँदा विश्व बजारमा सुनको आकर्षण कम हुने गर्दछ। जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ।
सुनको मूल्य नेपाली उपभोक्ताको खरिद क्षमताभन्दा माथि पुगेका कारण पनि एक महिनायता सुन खरिद गर्ने ग्राहक कम हुँदा मागसमेत गिरावट आएको छ।
बैंककै थुप्रियो १२१ केजी सुन
नेपाल राष्ट्र बैंकको नीति नेपाल सुन वाणिज्य बैंकहरुले मात्रै आयात गर्न पाउँछन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन पहिलो हप्तासम्म आयत भएको थियो। त्यसयता सुन आयत भएको छैन। फागुनको पहिलो साता प्रतितोला तीन लाख ५ हजार रुपैयाँको हाराहारीमा खरिद गरेको पाँच वटा बैंकले दुई सय केजी सुन आयात गरेका थिए।
यसबीच सुनको मूल्य तीन लाख २९ हजार रुपैयाँसम्म पुग्यो। अहिले घटेर दुई लाख ७५ हजार रुपैयाँमा झरेको छ। संघको तथ्यांकअनुसार चैत ६ गतेसम्म पाँच वटै वाणिज्य बैंकमा कुल १२१ केजी सुन स्टकमा छ।
यो गिरावटलाई अस्थायी सुधारका रुपमा पनि रहेको उनको बुझाइ छ।
बजारमा सुन निर्यात नहुँदा पुरानै खरिद बिक्री भइरहेको छ। नयाँ सुनको माग बजारमा छैन। बजारमा नयाँ सुनको माग नहुँदा बैंकहरूले पछिल्लो एक महिनादेखि आयातसमेत बन्द गरेका छन्।
पुरानो सुनकै भरमा बजार
अहिले विवाहको लगन भए पनि उपभोक्ता नयाँ सुन किन्न डराइरहेका छन्। व्यवसायीका अनुसार बजारमा अहिले नयाँ सुनको खरिदभन्दा पनि ग्राहकले आफ्ना पुराना गहना ल्याएर साट्ने गर्ने क्रम बढेको छ। ‘बजारमा नयाँ सुन गइरहेको छैन, पुरानै खरिद बिक्रीबाट व्यवहार धानिएको छ, बिहेको सिजनमा पनि फाट्टफुट मात्रै कारोबार भए,’ शाक्य भन्छन्।
अन्तर्राष्ट्रिय बजारको वर्तमान ट्रेन्ड र डलरको मजबुतीलाई हेर्दा आगामी दुई हप्ता सुनको मूल्यका लागि निर्णायक हुने देखिएको छ। यदि, इरान-इजरायल द्वन्द्वका कारण तेलको भाउ यसैगरी बढिरहे लगानीकर्ता सुनबाट बाहिरिने क्रम जारी रहे, आगामी १५ दिनभित्रै सुनको मूल्य थप २५ हजारले घट्ने निश्चित छ।
यद्यपि, यो गिरावटलाई अस्थायी सुधारका रुपमा पनि रहेको उनको बुझाइ छ। मध्यपूर्वको तनाव कम भएर तेलको मूल्य सस्तिएमा लगानीकर्ता पुनः सुनमा फर्किन सक्ने र मूल्यमा फेरि उछाल आउन सक्ने सम्भावना छ।