काठमाडौं। सरकारले सन् २०२६ सम्म ७ करोड ५० लाख अमेरिकी डलर मूल्यबराबरको पश्मिना निर्यात गर्ने लक्ष्यसहित 'राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति २०७९/८३' सार्वजनिक गरेको छ।
मंगलबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त रणनीति सार्वजनिक गरेका हुन्।
रणनीतिले निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङग्रा पश्मिनाको निर्यात बढाउन निजी क्षेत्रलाई क्षेत्रीय तथा विश्व बजारमा पुनः सम्पर्क गराउन सहयोग पुर्याउने अपेक्षा गरिएकाे छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवालासँग छलफल गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँग सहकार्य एवं युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गतअन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रणनीति तयार गरेकाे जनाएकाे छ।
आइटिसीले पश्मिना मूल्य शृङ्खलामा सूक्ष्म, साना तथा मझौला उद्यमका लागि तत्काल आर्थिक तथा व्यावसायिक फाइदा लिने अवसर प्रदान गर्नमा केन्द्रित भइ यो रणनीति तयार गर्न प्राविधिक सहयोग गरेको हो। नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैयाँ (करिब १ करोड ९३ लाख अमेरिकी डलर) बराबरको पश्मिना सल निर्यात गरेको थियो जुन सन् २०२० को तुलनामा १८ प्रतिशत बढी हो।
रणनीतिले यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने उद्देश्यका साथै याे योजनामार्फत अवसरलाई परिभाषित गरेको छ। रणनीतिले नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्याउने विश्वास गरिएकाे छ।
पश्मिना फाइवर प्रशोधन केन्द्र शिलान्यास
पश्मिना प्रशोधनको लागि पश्मिना फाइवर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास गरिएकाे छ। मंगलबार ललितपुरको हरिसिद्धिमा आयाेजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारी विभागका मध्यपूर्व एसिया निर्देशक पेटेरिस उस्टुव्सले संयुक्त रूपमा केन्द्रकाे शिलान्यास गरे।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले च्याङ्ग्रा पश्मिना नेपालबाट ‘सानो मात्रा उच्चमूल्य भएका निर्यातयोग्य उत्पादनहरू मध्येको एक भएकाे बताए। उच्च हिमाली जिल्लाका किसान तथा उत्पादकदेखि निर्यातकर्तासम्मको मूल्य शृङ्खलाभर नै यसको सकारात्मक सामाजिक आर्थिक प्रभावलाई ध्यानमा राखी सरकारले यसको मूल्य शृङ्खला विकासलाई प्राथमिकतामा राखेको उनकाे भनाइ छ।
युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारी विभागका मध्यपूर्व एसिया निर्देशक पेटेरिस उस्टुव्स भने 'यो रणनीतिले साना तथा मझौला व्यवसायले सुदृढ सम्पर्क तथा निर्यात व्यापारबाट लाभ लिन सहयोग पुर्याउने उद्देश्य लिएको छ।'
रणनीतिले बजार विविधिकरण गरी नेपालको पश्मिना उद्योगलाई स्पष्ट उद्देश्यसहित अगाडि बढ्न सहयोग पुग्नेमा आफू विश्स्त रहेकाे उनले बताए। वाणिज्य सचिव मधुकुमार मसासिनीले च्याङग्रा पश्मिनाको ठूलो सम्भावनालाई अझै उपयोग गर्न नसकेकाे बताए।
पश्मिनाका लागि बलियाे जनसम्पर्क बनाउन आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने उनकाे भनाइ छ। पश्मिनालगायत उच्च सम्भावना भएका उत्पादनको प्रवर्द्धनका लागि इयुलगायतबाट आवश्यक सहयोग जारी राख्न उनले आग्रह गरे।
' याेजना पूरा गर्न नेपालले पहिले यस क्षेत्रलाई पुनःसंगठित गर्नुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, उत्पादकत्व बढाउनुपर्छ तथा नेपालले पहिले कमाएको गुणस्तरको ख्याति पुनः प्राप्त गर्नुपर्छ,' उनले भने, 'यस सन्दर्भमा रणनीतिले दीर्घकालीन क्षेत्र विकासका लागि तय गरिएका स्पष्ट प्राथमिकतासहितको साझा अवधारणा प्रदान गर्छ।'
आइटिसीको देशीय कार्यक्रम विभागका निर्देशक आशिष शाहले रणनीति तयार गर्न पाएकोप्रति गर्व महसुस भएकाे बताए। उनले भने, 'यो कार्य यही रोकिँदैन। अबको चुनौती यसको कार्यान्वयन हो। हामी यस रणनीतिमार्फत नेपाली जनताको जीवनस्तर सुधार गर्न चाहन्छौं भने हामी अब कामतर्फ लाग्नैपर्छ।'
रणनीति ल्याएकोप्रति सरकारलाई धन्यवाद दिँदै पश्चिमना उत्पादक संघका अध्यक्ष विजय दुगडले यसको कार्यान्वयनका लागि निजी क्षेत्रकाे पूर्ण सहयोग रहने बताए।