काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग विश्व बैङ्कका उपाध्यक्ष तथा महालेखा परीक्षक एनके डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री खतिवडाले बैङ्कका उपाध्यक्ष एवम् महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैङ्कको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
सन् २०२२ सम्म नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्म कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै अर्थमन्त्री खतिवडाले यसका लागि विश्व बैङ्कको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरे ।
भेटघाटका क्रममा अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रम तीव्रताका साथ अगाडि बढेकोमा विश्व बैङ्कका तर्फबाट प्रशंसा गरिएको थियोे ।
मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैङ्कले आगामी दिनमा पुर्याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए ।
नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक वृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा डा. खतिवडाले विश्व बैङ्कलाई विश्वस्त हुन आग्रह गरे ।
उनले सङ्घीय संरचनाअनुरुप स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे । अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र स्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैङ्क लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गरे ।
भेटका अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार डा. रामशरण खरेल र विश्व बैङ्क नेपाल तथा आर्थिक वित्तनिगम नेपालका प्रमुख लगायत विश्व बैङ्कका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।