काठमाडौं। युरोपको एक अग्रणी ट्राभल कम्पनी ‘युरोपामुन्डो’ ले नेपालका लागि आफ्नो आधिकारिक वितरकमा सांग्रिला टुर्स प्रालिलाई नियुक्त गरेको छ।
दुई कम्पनीबीचको साझेदारीबाट नेपालीले युरोपामुन्डो भ्याकेसन्सको भरपर्दो र गुणस्तरीय सेवाको लाभ उठाउँदै प्रतिस्पर्धी मूल्यमा एसिया, युरोप, अफ्रिका तथा उत्तर अमेरिकाका पर्यटन गन्तव्यमा यात्रा गर्न सक्नेछन्। यसखालका ‘होलिडे प्याकेज’ युरोपामुन्डोको आधिकारिक वेबसाइटमा उपलब्ध छन्।
सांग्रिला टुर्सका अनुसार युरोपामुन्डोले ४८ देशबाट वार्षिक १ लाख ५० हजारभन्दा बढी पर्यटकलाई किफायती होलिडे प्याकेजमार्फत विभिन्न गन्तव्य घुमाउने गरेको छ।
युरोपामुन्डोले आवास विकल्प पनि दिने गरेको छ, जसमा सिंगल, डबल बेडदेखि सहरी होटल वा एकल यात्रीलाई साझा कोठासम्म उपलब्ध हुनेछन्।
युरोपामुन्डोसँग ५ सयभन्दा बढी होलिडे प्याकेज तयार छन्। युरोपामुन्डो संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) सँग सम्बद्ध एकमात्र कोच टुर अपरेटिङ कम्पनी हो।
‘अन्तर्राष्ट्रिय यात्रा महँगो हुन्छ भन्ने आमधारणा युरोपामुन्डोका किफायती र रोमाञ्चक होलिडे प्याकेजले हटाइदिएको छ,’ सांग्रिला टुर्सका प्रबन्ध निर्देशक अशोक पोखरेलले भने, ‘युरोपामुन्डोसँग हाम्रो साझेदारीपछि नेपालीले किफायती होलिडे प्याकेजमार्फत संसारका जुनसुकै गन्तव्यमा आरामदायी भ्रणम गर्न पाउनेछन्।’
सांग्रिला टुर्स २०३६ सालमा स्थापना भएको नेपालकै पुराना ट्राभल कम्पनीमध्ये पर्छ। यसले नेपालको सौन्दर्य र सांस्कृतिक समृद्धिलाई विश्वबजारमा देखाउन भ्रमण र पर्यटनमार्फत काम गर्दै आएको छ।
कम्पनीले आउटबाउन्ट पर्यटन, स्वास्थ्य पर्यटन, खाना तथा पेय पर्यटन, वायुसेवा कम्पनीका टिकेटिङलगायत सेवा पनि उपलब्ध गराउँदै आएको छ।