काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) बिक्रीमा प्रतिस्पर्धा बढेको छ। सवारीसाधन प्रयोगकर्ताले कम खर्च र वातावरणमैत्री विकल्पका रूपमा विद्युतीय सवारीसाधन रोज्न थालेका छन्। तर, ईभी बिक्री बढ्दै जाँदा समस्या र चुनौती पनि थपिँदै गएको छ।
विद्युतीय सवारीसाधनका लागि अहिले स्पेयर पाट्र्स अभाव, मूल्य महँगो र दक्ष जनशक्ति (ईभी टेक्निसियन)को कमी ठूलो चुनौती बनेको छ। ईभी बिक्री र आकर्षण बढे पनि बिक्रीपछिको सेवामा ईभी प्रयोगकर्ताले धेरै समस्या भोगिरहेका छन्। हाल स्पेयर पाट्र्स अभाव, महँगो मूल्य र ईभी मर्मतका लागि दक्ष जनशक्ति अभावका कारण उपभोक्ताले समस्या भोगिरहेका छन्। अधिकांश ईभी प्रयोगकर्ता गाडी मर्मतमा समस्या झेल्नुपरेको बताउँछन्।
विद्युतीय सवारी मर्मतका लागि विशेष दक्षता आवश्यक पर्ने भएकाले सामान्य वर्कसप तथा आईसिई इन्जिन मर्मत गर्ने मेकानिलकले मर्मत गर्न सम्भव हुँदैन। विद्युतीय गाडी मर्मत गर्न तालिम र सोहीअनुसारको उपकरण चाहिन्छ, जुन नेपालमा उपलब्ध छैन।
अहिले सामान्य मर्मतका लागि समेत पार्टस ल्याउन समय लाग्ने अवस्था छ। त्यसमा पनि विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री, कन्ट्रोल र मोटर मर्मत गर्नसक्ने दक्ष मेकानिकलको संख्या न्यून छ। नेपालमा ईभी नयाँ प्रविधि भएकाले मर्मत गर्ने दक्ष मेकानिकल अभाव रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्।
‘अहिले हाम्रोमा ईभी मर्मतका लागि दक्ष जनशक्ति अभाव छ,’ अध्यक्ष थापा भन्छन्, ‘हामीले मेकानिकललाई बेला बेलामा तालिम दिए पनि मेकानिकल तालिम सिकेर बिदेसिइरहेका छन्।’ उनी भन्छन्, हालै पुल्चोक इन्जिनियर क्याम्पसको सहयोगमा ७ जनालाई चीनमा तालिमका लागि पठाएका छौं। उनीहरु पढेर आएपछि नेपाल बस्छन् वा बस्दैनन्, हामीलाई नै थाहा नहुने भयो।’
पहिले धेरै मेकानिकल इन्जिनियरलाई ईभी मर्मतका लागि चीन तालिम लिन पठाए पनि तालिम लिएर आएपछि नेपाल नबसेको उनको भनाइ छ।
‘ईभी नेपालमा नयाँ प्रविधि हो। आईसिई इन्जिन सवारीसाधन मर्मत गर्ने मेकानिकले ईभी मर्मत गर्न सक्दैनन्,’ उनले भने, ‘ईभी गाडी मेकानिकल इन्जिनियरिङ पढेकाले मात्र मर्मत गर्न सक्छन्। यसमा नटबल कसेर मात्र हुँदैन,’ थापा भन्छन्, हामीले बेलाबेलामा सिटीइभिटी, जाईका नेपालको सहयोगमा मेकानिकललाई प्रशिक्षण पनि दिइरहेका छौं। डिजेल/पेट्रोल गाडी धेरै अनुमानको भरमा पनि मर्मत गरिरहेका हुन्छन्।’ तर, ईभी मर्मत अनुमानको भरमा गर्न नसकिने भएकाले यसमा ल्यापटप नै जोड्नुपर्ने उनी बताउँछन्।
विद्युतीय सवारी मर्मतका लागि विशेष दक्षता आवश्यक पर्ने भएकाले सामान्य वर्कसप तथा आईसिई इन्जिन मर्मत गर्ने मेकानिलकले मर्मत गर्न सम्भव हुँदैन। विद्युतीय गाडी मर्मत गर्न तालिम र सोहीअनुसारको उपकरण चाहिन्छ, जुन नेपालमा उपलब्ध छैन।
सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न दिएको कर छुटको फाइदा व्यापारीले बिक्रीमा लिइरहेका छन्। ईभी व्यवसायीले गुणस्तरीय सेवा र मर्मत पूर्वाधारमा लगानी नगरेको आरोप पनि बेलाबेलामा लाग्ने गरेको छ। नेपालमा ईभी बिक्री तिव्र रुपमा बढे पनि धेरै कम्पनीले बिक्रीपछिको सेवामा ध्यान नदिएको एक व्यवसायी बताउँछन्।
‘अहिले धेरै समस्या दक्ष जनशक्तिको अभावले भएको छ,’ ती व्यवसायी भन्छन्, ‘दक्ष जनशक्ति अभाव भएका कारण पार्टस् बाहिरबाट आउन समय लाग्छ भन्दै प्रयोगकर्तालाई झुट बोल्नुपर्ने बाध्यता रहेको छ।’ ईभीको ब्याट्री, मोटर, ब्रेकलगायतमा आएको समस्या एउटै मेकानिकलले मर्मत गर्न नसक्ने उनको भनाइ छ।
कम्पनीले बिक्रीमा मात्र ध्यान दिइरहेका छन्,’ ती व्यवसायी भन्छन्, ‘तर, ईभी मर्मतका लागि आवश्यक पार्टस र दक्ष जनशक्ति उपलब्ध गराउन सकेका छैनन्।’ ईभी मर्मत गर्न फरक-फरक मेकानिक चाहिने व्यवसायी बताउँछन्। धेरै मेकानिकललाई ईभी मर्मतका लागि आवश्यक तालिम लिन विदेश पठाइए पनि तालिम लिएर फर्केपछि नेपाल नबस्ने व्यवसायीको गुनासो छ।
सुरुवाती चरणमा चार्जिङ स्टेसनको समस्या प्रमुख थियो। अहिले देशभर चार्जिङ पूर्वाधार विस्तार भइसकेको छ। तर, मर्मत सेवा र पार्टस् अभाव अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। स्पेयर पार्टस् एकदमै महँगो भएको गुनासो पनि उपभोक्ताले गर्दै आएका छन्।
सार्वजनिक वा निजी विद्युतीय सवारी बिक्री गर्ने अधिकांश कम्पनीले पर्याप्त सर्भिस सेन्टर उपलब्ध गराउन नसक्दा उपभोक्ता असन्तुष्ट बनेका छन्।
विद्युतीय गाडीका प्रयोगकर्ता भन्छन्, बिक्रीपछिको सेवा अत्यन्त कमजोर छ र महंगो छ। ‘गाडी बिग्रिएपछि कम्पनीमा मर्मतको लागि लिएर जाँदा स्पेयर पार्टस मूल्य एकदमै महँगो त छ नै, त्यहीमाथि हप्तौंसम्म पनि के भएको हो भन्ने कुरा नहेर्ने र पार्टस् छैन भनेर पन्छिने गर्छन्।’
उनका अनुसार साना दुर्घटनामा परेका गाडीका बम्पर, बडी प्यानल वा ब्याट्री सेन्सरमा समस्या आए पनि नेपालमा तत्काल मर्मत सम्भव हुँदैन। आवश्यक पार्टस् विदेशबाट मगाउनुपर्ने भएकाले गाडी महिनौंसम्म वर्कसपमा बस्ने गरेको छ।