काठमाडौं । निजगढ काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा लागि काटिएका रुखको व्यवस्थापन गर्ने कार्य शुरु भएको छ । सरकारले दु्रतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएपछि सडक निर्माणको क्रममा रेखाङ्कनमा परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ एक्लेखेतको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा काटिएका रुखहरु वन क्षेत्रबाट व्यवस्थापन गर्ने काम शुरु गरेको जनाएको छ ।
वन मन्त्रालयको वन व्यावस्थापन निर्देशिका २०७२ बमोजिम कटान गर्न आदेश भएको र द्रुतमार्ग निर्माणको क्रममा सोही निर्देशिका अनुसार काटिएका रुखहरुको व्यवस्थापन शुरु भएको एक्लेखेतको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मञ्जु पण्डितले बताइन्। नेपाली सेनाले विसं २०७४ मा ४३ हजार ७२७ क्युफिट सालका तथा अन्य विभिन्न जातका रुख काटेर एक्लेखेतमा घाट गद्दी गरेको थियो । घाटगद्दी गरिएकोमध्ये ३५ हजार क्यु फिट सालको काठ र ११० चट्टा दाउरा रहेको सामुदायिक वनले जनाएको छ ।
दु्रतमार्ग निर्माणको क्रममा काटिएका करोडौँ मूल्य बराबरको काठ पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको छ । सामुदायिक वनका उपभोक्ताले घर, गोठ बनाउन काठको माग गरेपछि नेपाल सरकार वन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट भूकम्पपीडित तथा उपभोक्तालाई डिभिजन वन कार्यलय मकवानपुरको स्वीकृतिमा केही आवश्यक काठ वितरण पनि गरिएको समिति अध्यक्ष पण्डितले बताइन् ।
भूकम्पपीडित पनि भएको र स्थानीय उपभोक्ता पनि भएका कारण स्थानीय स्रोतसाधनको स्थानीयस्तरमा नै प्रयोग गर्ने उद्देश्यअनुरुप आवश्यक केही काठ समितिका उपभोक्तालाई वितरण गरिएको उनले बताइन् । प्रति भूकम्पपीडित एक क्यु फिट रु २५० का दरले र अन्य उपभोक्तालाईै रु ३०० का दरले दुई हजार ७४३ क्यु फिट काठ बिक्री वितरण गरिएको सामुदायिक वनले जनाएको छ ।
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको ३५ हजार क्यु फिट सालको काठमध्ये १७ हजार क्युफिट काठ समितिलाई आफैँलाई बिक्री गर्न स्वीकृति दिएको र बाँकी १७ हजार क्युफिट काठ भूकम्पपीडित जिल्लामा वितरण गरिने समितिले जनाएको छ ।
यता निजगढलगायतका क्षेत्रमा द्रुतमार्ग निर्माणको क्रममा काटिएका रुख अहिले पनि यत्रतत्र थुपारिएका छन् । काटिएका रुख थुपारीको स्थानमा कुहिन थालिसकेका छन् । पूर्व–पश्चिम राजमार्गको आसपासमा थुपारिएका काठ अहिले आधाभन्दा बढी कुहिन थालेको र बिक्रीवितरण प्रक्रिया अगाडि नबढेका कारण थुपारिएकै स्थानमा कुहिन थालेको स्थानीय सामुदायिक वनले जनाएका छन् ।रासस