काठमाडौं । निर्माणधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको काम ७२ प्रतिशत सकिएको छ । ४.२ किलोमिटर लामो सुरुङको काम एक वर्षअघि सकेको आयोजनाको हाल विद्युतगृह र बाँधलगायत, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम जारी छ ।
आयोजनाको काम अझै २८ प्रतिशत बाँकी छ । कुनै अवरोध नआए असारसम्म आयोजना सम्पन्न भइ विद्युत उत्पादन थाल्ने आयोजना प्रमुख छवि गैह्रेले जानकारी दिए ।
उनकाअनुसार विद्युतगृहमा लट दुईको काम भइरहेको छ । बाँधमा ट्रेन्च खन्ने, सुरुङमा क्रंक्रिट लाइनिङ, टेलरेश र सर्जसाफटको काम भइरहेको उनले सुनाए । आयोजनाको कामले गति लिइरहेकाले निर्धारित समयमा काम सक्ने योजना रहेको उनले जानकारी दिए । आयोजना चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यई) रहेको छ ।
यसअघि आउँदो फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । विभिन्न ढिलाइले गर्दा आउँदो असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । सरकारले पनि रसुवागढी चालु आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको सूचिमा राखेको छ ।
आयोजना कर्मचारी सञ्चय कोषको ऋण लगानीमा निर्माण भइरहेको छ । आयोजनाको लागत झण्डै १३ अर्ब रुपैयाँ छ । सञ्चय कोषले आयोजनाको ब्याजदर घटाएर १०.७५ प्रतिशतमा झारेको छ । ब्याजदर घटेपछि आयोजनाका लागत पनि कम हुने देखिएको छ । आयोजनाका ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।
रसुवागढीले बिजुली नेपाल विद्युत प्राधिकरणलाई बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ५८ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
नदीको वहावमा आधारित आयोजनामा ३८ मेगावाट क्षमताका ३ ओटा टर्वाइन जडान हुने छन । आयोजना नेपाल र चीन सीमा नजिक रसुवा जिल्लामा छ । आयोजना रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माण भइरहेको छ ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । यसका लागि स्थानीयसंग आयोजनाले छलफल गरिरहेको छ ।