सिन्धुली। गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक संघसंस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत अर्थ मन्त्री र कर अधिकृत भावाना चौलागाईंमार्फत आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौंलाई अध्यक्ष खेटराज अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा मुनाफारहित कार्य गर्ने संघसंस्थाहरूको कर, भ्याटका समस्या समाधान गर्न गैससले माग गरेको छ। पछिल्लो चरणमा नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयबाट सामाजिक संस्थाले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकरसमेत लिन खोजिएको उल्लेख छ।
साथै, नागरिक संघ संगठनमाथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघसंस्थालाई बन्द गर्न खोजेको दाबी गर्दै महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा पनि मुनाफारहित सामाजिक संघसंस्थाको आयकर, मूल्य अभिवृद्धि कर, अन्य कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफारहित सामाजिक संघ संस्थाहरू भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरी समस्याको समाधान गर्न अनुरोध गरिएको छ।
नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थालाई आयकर ऐन २०५८ को दफा २ (ध) ले कर छुट हुने संस्थाको रूपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम कर छुट प्रमाणपत्र समेत लिँदै आएको जानकारी गराएको छ। यस्ता संस्थाहले व्यावसायिक संस्था जस्तो आयमुलक व्यवसाय र मूल्य अभिवृद्धि हुने कार्य नगरेका कारण कर खारेजीको माग गरेका हुन्।