काठमाडौं । जाजरकोट जिल्लामा आयोजना स्थल रहेको ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय महत्वमा समावेश छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा सहयोग उपलब्ध गराउन जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरिसकेको छ । सो आयोजनामा लगानीका लागि जापानी व्यवसायी एवम् जाइकाले समेत इच्छा व्यक्त गरेको छ ।
सरकारले आयोजना प्रभावित ६५७ घरपरिवारलाई २ अर्ब ७२ करोड रुपैयाँ मुआब्जा बाँड्ने तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत भदौ ३१ गते सार्वजनिक सूचनामार्फत आयोजना प्रभावितका लागि मुआब्जा लिन आउन आग्रह गरेको थियो ।
हाल आयोजनाको विस्तृत परियोजनना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समेत आयोजना प्रभावितलााई मुआब्जा वितरण गरी निर्माण शुरु गर्ने कार्यक्रम समावेश गरिएको छ ।
प्रदेशगत सन्तुलन एवम् ऊर्जाको माग र आपूर्ति मिलाउनका लागि सरकारले सो आयोजना निर्माण गर्न लागेको हो । शुरुमा कूल ४१० मेगावाट क्षमतामा निर्माण गर्ने भनिएको आयोजनाको हाल सात मेगावाटले वृद्धि भई ४१७ पुगेको छ । डीपीआर सकिएलगत्तै सरकारले आयोजना निर्माणको काम शुरु गर्ने तयारीसमेत गरेको छ ।
डीपीआरको काम चलिरहेको बेला आयोजनाले पार्ने वातावरणीय प्रभावलगायतका विषयमा आज आयोजित कार्यक्रमका वक्ताले आयोजना जाजरकोटका लागि मात्रै नभई समग्र कर्णाली प्रदेशका लागिसमेत महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने भएकाले शुरुआती चरणमा नै विशेष ध्यान दिन आग्रह गरेका थिए ।
उनीहरुले आयोजनाले पार्ने वातावरणीय एवम् जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिए । आयोजनाको जलाशयले माथिल्लो तटीय क्षेत्र ५६९ वर्ग किलोमिटरमा फैलिएको छ भने जम्मा तटीय क्षेत्र तल्लो क्षेत्रसहित ६७७ वर्ग किलोमिटर रहेको छ ।
आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट ७ लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवम् रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ ।
आयोजना निर्माणका लागि ६ वर्ष ६ महिना लाग्ने अनुमान छ । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार आयोजनामा २१० मिटर अग्लो र ५४५ मिटर चौडाइको जलाशय हुनेछ । पानी पूर्णरुपमा भरिँदा ४ अर्ब ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । रासस