काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आयोजनाको सुरुङ्ग खन्न ९०० टन बिष्फोटक पदार्थ चाहिने भएको छ । २.६८ किलोमिटर लामो सुरुङमार्ग बनाउन आवश्यक पर्ने बम तथा बारुदजन्य बिष्फोटक पदार्थ भारतबाटै ल्याउन लागिएको आयोजना कार्यालयका प्रमुख श्याम खरेलले क्यापिटल नेपाललाइ जानकारी दिए ।
ठूलो परिमाण बिष्फोटक पदार्थ नेपाली सेनासँग नभएपछि भारतबाट ल्याउन लागिएको आयोजनाले जनाएको छ । ‘सुरुङमार्ग ‘ब्रेकथ्रु’ गर्न ९०० टन बिष्फोटक पदार्थ भारतबाटै आउँछ । नेपाली सेनासँग थोरै परिमाण छ । हामीलाइ ठूलो ‘भोल्युम’ मा चाहियो’ उनले भने, ‘बम/बारुद जन्य बिष्फोटक सेनामार्फत ‘ब्लास्ट’ गछौं ।’
उनले बिष्फोटक पदार्थ ‘ब्लास्ट’ र सुरक्षणका लागि दैनिक ७० जना सेना खटाइने बताए । ‘सुरुङमार्गको दुबैतिरबाट ‘ब्लास्ट’ गर्नुपर्छ’ उनले भने, ‘बिष्फोटक पदार्थ सुरक्षा गर्न र ‘ब्लास्ट’ गर्न दैनिक ७० जना सेना खट्नुपर्छ ।’
एकतर्फबाट बिष्फोटन गर्दा ३५ जना सेना चाहिने उनको भनाइ छ । खरेलका अनुसार, बम बिष्फोटक पदार्थ राख्न साइटमा दुईओटा ‘क्याम्प’, थानकोटको सेनाको व्यारेक र सिस्नेखोलामा पनि बिष्फोटक पदार्थ सुरक्षित गर्ने क्याम्प रहनेछन् ।
आयोजनाका अनुसार, सुरुङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनलाई दिइसकिएको छ । कम्पनीले नागढुंगादेखि सुरुङमार्गसम्म पुग्ने ३ किलोमिटर बाटो, पुल र फ्लाइओभरलगायतका संरचनाको काम सुरु गरेको छ ।
तर, मुख्य सुरुङमार्गको काम सुरु गर्न भने ५/६ महिना लाग्नेछ । कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए ।
मुलुकको पहिलो ठूलो सडक सुरुङमार्गका रुपमा अघि बढाइएको आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । चन्द्रागिरी नगरपालिका—१ को टोटेपाखादेखि धादिङको ढुनीबेंसी नगरपालिका—९ सिस्नेखोलासम्म पुग्ने छ । झन्डै २.६८ किलोमिटर लम्बाइको आधुनिक डिजाइन र चिनियाँ मोडेलमा सुरुङमार्ग बनाइनेछ ।
सुरुङमार्गको गोलाइ अर्थात परिधि साढे १० मिटरको बन्नेछ । अत्याधुनिक र उच्च गुणस्तरको सुरुङमार्गमा दुईओटा फ्लाइओभरसहित बनाइनेछ ।
यस्तै एक आकस्मिक/उद्धार सुरुङमार्ग बन्नेछ । सुरुङमार्गभित्र दुई लेनको सडक हुनेछ भने दुबैतर्फ दायाँ बाँया पैदलयात्री हिड्न मिल्नेगरी पेटी बनाइनेछ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को साढे १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारको गरी साढँ २२ अर्ब रुपैयाँमा लगानी छ । यसले काठमाडौं उपत्यकाभित्रको ट्राफिक जाम आधा कम हुने अपेक्षा गरिएको छ ।