काठमाडौं । निजी लगानीमा निर्माण भएको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । आयोजनाको सबै काम सकेर परीक्षण विद्युत उत्पादन पनि भइसकेको छ ।
सोलुको लमानेदेखि सिरहाको मिर्चैयासम्म १३२ केभी प्रसारणलाइन निर्माणमा भएको ढिलाइले आयोजनाबाट बिजुली उत्पादन पछि धकेलिएको हो ।
आयोजनाबाट उत्पादन हुने बिजुली मंसिर अन्तिमसम्म ३३ केभी प्रसारणलाइनमा जोड्ने काम भइरहेको प्रवद्र्धक अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका सञ्चालक प्रविन श्रेष्ठले बताए ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी प्रसारणलाइन सकिन अझै ६ महिना लाग्ने भएकाले तत्काल ३३ केभी लाइनमा जोडेर विद्युत उत्पादन सुरु गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार ३३ केभी प्रसारणलाइनले आयोजनाबाट उत्पादन हुने सबै बिजुली प्रवाह गर्न सक्दैन ।
आयोजना सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ४ अर्ब ४० करोड रुपैयाँ छ । आयोजना खोलाको पानीको बहाबमा आधारित हो ।
विद्युतगृहमा ११.७५ मेगावाट विद्युत उत्पादन गर्ने २ वटा जेनेरेसन युनिट राखिएका छन । आयोजनाबाट वार्षिक १३ करोड २५ लाख युनिट विद्युत उत्पादन हुने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभीको सोलु कोरिडोरमा जोडिने छ । आयोजनाको विद्युतगृहबाट ३ किलोमिटर दुरीको तिन्ला गाविसस्थित लमानेमा निर्माण हुने सबस्टेसनमा प्रवद्र्धक आफैंले प्रसारण लाइन निर्माण गरिसकेको छ ।
आयोजनामा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन । २५ प्रतिशत लगानीकर्ताको स्वपुँजी छ । लक्ष्मी बैंकको अगुवाइमा नेपाल इन्भेस्टमेन्ट, एनएमबी, एभरेस्ट, एनआइसी एसिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन ।
कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई गरी ३३ करोड ७ लाख ५ हजार रुपैयाँबराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।