काठमाडौ । आगामी असारदेखि ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा हस्तान्तरण हुने भएको छ ।
विद्युत प्राधिकरण र खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडबीच सन २०२० को जुलाइदेखि खिम्तीको आधा स्वामित्व हस्तान्तरण हुने र हालका अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सकिने छ । खिम्ती आयोजनाबाट विद्युत प्राधिकरणले डलरमा महंगो बिजुली किन्दै आएको छ ।
हिमाल पावरले २ वर्षअघि नै पीपीएका लागि विद्युत प्राधिकरणमा आवेदन दिएको थियो । विद्युत प्राधिकरणले पीपीएका लागि एक कार्यदल गठन गरेको प्रवत्ता प्रवल अधिकारीले बताए । उनले कार्यदलले वार्ता गरेपछि मात्र पीपीए हुने जानकारी दिए । विद्युत प्राधिकरणले बेग्लै कम्पनी गठन गरेर आयोजना सञ्चालनको तयार गरेको छ ।
सन २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ ।
खिम्तीको बिजुली खरिदमा विद्युत प्राधिकरणले नोक्सान व्योहर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ ।
डलर अझ मंहगिएको अवस्थामा बिजुलीमो मूल्य पनि बढ्ने गरेको छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ ।
विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ ।
खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
अरुण तेस्रो आयोजनाको अवसानपछि खिम्ती आयोजना आएको हो । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधारआधा बाँडिने छ ।
खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) , नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो ।
विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर ११५ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।
खिम्तीको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण र डलर पीपीए खारेज भएपछि बीपीसीको आम्दानीमा गम्भीर धक्का लाग्ने भएको छ । बीपीसीमा हिमाल पावरमा १७ प्रतिशत स्वामित्व रहेको छ । गत वर्ष मात्रै बीपीसीले हिमाल पावरबाट झण्डै ६० करोड रुपैयाँ नगद लाभांश प्राप्त गरेको थियो ।
चालु आर्थिक वर्षसम्म बीपीसीले हिमालबाट गत वर्षको हारहारीमा लाभांश पाउने छ । असारपछि हिमालको आम्दानीमा भारी गिरावट आउने भएपछि आगामी वर्षदेखि बीपीसीले पाउने लाभांशमा गम्भीर असर पर्ने देखिएको छ ।
बीपीसीको आम्दानीको मुल स्रोत खिम्ती आयोजनाको लाभांश नै हो । बीपीसीले सञ्चालन गरेको आँधिखोला, झिम्रुक र खुदी आयोजनाको आम्दानी राम्रो छैन ।
बीपीसीले सहायक कम्पनीबाट ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । चीनियाँ कम्पनीको साझेदारीमा ठुला आयोजना बनाउने तयारी बीपीसीको छ ।