काठमाडौं। स्वर्गीय बनवारीलाल मित्तलको स्मृतिग्रन्थ सार्वजनिक भएको छ। मन्त्रीपरिषद्का तत्कालीन अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले स्वर्गीय मित्तलको स्मृतिग्रन्थ सार्वजनिक गरेका हुन्।
मित्तललाई नजिकबाट नियाल्ने विभिन्न क्षेत्रका १४७ जना व्यत्तिले लेखेको लेखलाई एकीकृत गरेर स्मृतिग्रन्थ निकालिएको हो। फरक-फरक क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिले मित्तलबारे चर्चा गरेका छन्।
नेपाली सामाजिक, धार्मिक तथा आर्थिक इतिहासमा मित्तलको नाम ऐतिहासिक छ। आर्थिक, धार्मिक, सामाजिक तथा परोपकारका क्षेत्रको भूमिकामा मित्तलको नाम अग्रस्थानमा रहेको रेग्मीले बताए।
नाम छ, अभिलेख छैन। गाथा छ, लेखोट छैन। आफ्नै बारेमा उनी स्वयंको स्वतन्त्र लेखनी नगन्यप्रायः छ। सम्बद्ध अनुरोध तथा विशेष सन्दर्भहरूमा उनका थोरै सम्बद्ध विषयगत रचना छापिएको कार्यक्रमका बक्ताहरूले बताएका थिए।
मित्तलकाे नलेखिएको इतिहासका जीवनचरित्रलाई अभिलेख गर्ने, प्रकाश पार्ने अभिप्रायअनुरूप मित्तल ग्रन्थको परिकल्पना भएको उनका छोरा सुधीरको भनाइ छ।
![21690297501.jpg](https://www.capitalnepal.com/uploads/posts/21690297501.jpg)
आजभोलि हाम्रो समाजमा व्यक्तिलाई महान् देखाउन प्रशस्ति लेख्ने र स्मृतिग्रन्थ छाप्ने परम्परा छ। हो, कुनै पनि व्यक्तिका कर्म र कीर्तिका प्रकाशन अभिलेख राख्नु स्वागतयोग्य भए तापनि अभिलेख राख्ने नाममा प्रशस्ति छापी प्रकाशित गर्नु कदापि राम्रो होइन। यो नेपाली समाजको विद्यमान अवस्था हो। यस घडीमा मित्तलको जीवनचरित्र प्रकाशन गर्ने कार्य पनि अत्यन्तै संवेदनशील तथा चुनौतीपूर्ण छ। मित्तलको यथार्थ जीवनचरित्र के हो ? विना अङ्कुश, निसङ्कोच, निर्भीकतापूर्वक उनको कर्म र धर्म जस्ताको त्यस्तै स्वतन्त्रतापूर्वक सम्प्रेषण गर्ने दायित्व अत्यन्त कठोर एवं कठिन भएको ग्रन्थका प्रकाशन तथा सम्पादक समितिका संयोजक एमडी अग्रवालको भनाइ थियो।
![31690297501.jpg](https://www.capitalnepal.com/uploads/posts/31690297501.jpg)
मित्तल उद्यम गर्ने जुझारु उद्योगी हुन्, परिवारका कुशल अभिभावक हुन्, धर्म संस्कृतिका संरक्षक हुन्, आपद्विपद् पर्दा सेवा गर्ने सच्चा परोपकारी हुन्, राष्ट्रिय हितलाई सर्वाेच्च ठान्ने व्यावसायिक नेतृत्वकर्ता हुन्, संस्कारी पाठशालाका शिक्षक हुन्, समुदाय समुत्थानका अभियन्ता हुन्, यी र यस्ता अनेकौं प्रश्नको स्पष्ट जवाफ ग्रन्थमार्फत खोज्ने प्रयास गरिएको छ।
यस्तो उस्तोको पछाडि नदौडी सत्य–तथ्य प्रामाणिक स्रोतहरूलाई आधार बनाएर मित्तलको संक्षिप्त जीवनचरित्र प्रकाश गर्ने कोसिस गरेको डा. गोविन्द टण्डनले बताए।
![41690297501.jpg](https://www.capitalnepal.com/uploads/posts/41690297501.jpg)
ग्रन्थ मित्तलप्रति समर्पित छ। यो एउटा विचार, भावना, संस्मरण र अनुभूतिको अभिलेखित संग्रहालय पुगेको उद्योगपति वसन्त चौधरीको भनाइ छ। ‘प्रकाशित दर्पणमा हेर्दा मित्तलको छर्लङ्ग जीवनचरित्र प्रतिविम्बित हुनेछ’ उनले भने।