काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो ।
निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए।
यस्तै बालगोपालश्वर मन्दिरको पुनःनिर्माणको कामसमेत तीव्ररूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए ।
“वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन्”, उनले भने । बाँकी काम पनि नियमितरूपमा भइरहेको छ ।
शुरुआतमा काठमाडौँ महानगरपालिले पुनःनिर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।
मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । १० महिनाभित्र निर्माण सम्पन्न हुने गरी प्राधिकरणले निर्माण कम्पनी ‘सिएर तुलसी कन्स्ट्रक्शन जेभी’सँग सम्झौता गरेको छ । रासस