सेयर बजार बुझ्न सक्ने र यसभित्र खेल्न सिपालुले नेपाली सेयर बजारबाट प्रशस्तै फाइदा लिने गरेका छन्। बजार कुन समयमा तल ल्याउने र कुन समयमा माथि पुर्याउनेजस्ता कुरा पनि यस्ता केही सीमित व्यक्तिको हातमै छ। जसका कारण आमलगानीकर्ता यसको असरमा पर्ने अवस्था अहिले विद्यमान छ।
यद्यपि, अहिले सेयर बजार तल झर्नुका अन्य विविध कारण पनि छन्। नीतिगत कुरा, माइक्रो म्यानेजमेन्टका समस्या अब बिस्तारै समाधान हुँदै जान्छन्। यी कुरा समाधान हुने प्रक्रियामा छन्।
यस्ता समस्या र बजारमा सुधार ल्याउने किसिमका केही विषय छिट्टै आउनेमा मैले विश्वास लिएको छु। सेयर बजार स्वस्थकर बनाउन आवश्यक छ र यसको फाइदा आमलगानीकर्ताले पनि पाउने वातावरण बनाउनुपर्छ।
साना–साना लगानीकर्ता र यसमार्फत केही हुन्छ कि भनेर लगानी गरेका व्यक्तिको लगानी सुरक्षित गर्न पनि जरुरी छ। अहिलेको सबैभन्दा बढी चिन्ताको विषय पनि यही हो। सूचनाहरू बाहिरिने तथा बजारलाई अस्वाभाविकरूपमा असर पुग्ने किसिमका प्रवृत्ति पनि हाम्रो बजारमा देखिने गरेका छन्। यसलाई हामीले व्यावहारिकरूपमा अन्त्य गर्नुपर्छ।
यस्ता गलत प्रवृत्ति र एउटा समूह तथा वर्गलाई मात्रै फाइदा पुर्याउने किसिमका प्रवृत्तिलाई नीतिगतरूपमा नै बाँधेर अन्त्य गर्नुको विकल्प पनि देखिँदैन। सेयर बजारमा सीमित दायरा र त्यसको फाइदाका विषयमा आमलागानीकर्तालाई समेत समान पहुँच पुग्ने हिसाबमा सबै कुरा निर्धारण गर्नुपर्छ।
कहाँ लगानी गर्दा उपयुक्त हुन्छ भन्ने विषयलाई बढाइचढाइ गरेर देखाउने जुन गलत प्रवृत्ति छ, यसलाई सधैंका लागि अन्त्य गर्नुपर्छ। आमलगानीकर्तालाई कहाँ लगानी गर्दा के हुन्छ र कुन क्षेत्रको अवस्था कस्तो छ भन्ने कुराको यथार्थ जानकारी पनि हामीले दिन सक्नुपर्छ।
यसर्थ, यस विषयलाई लिएर एक किसिमको जागरुकता फैलाउन आवश्यक छ। आमनागरिकमा ज्ञान प्रवाह गर्न जरुरी छ। जसले गर्दा नयाँ लगानीकर्ता पनि उपयुक्त निर्णय लिन सक्छन्। यसतर्फ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले काम गर्दै आएको छ।
तर, आगामी दिनमा यसले अझै आफ्नो लक्ष्य पूरा गर्ने हिसाबमा काम गर्न जरुरी छ। हालसम्म सेबोनले जे जति क्रियाकलाप अगाडि बढाइरहेको छ, यसलाई अझै विस्तार गर्दै जानुपर्छ। त्यसो भएको खण्डमा मात्रै हामीले भनेअनुसार आमनागरिकले यस क्षेत्रबाट लाभान्वित हुन सक्छन्।
अहिले विभिन्न किसिमका अनलाइन प्लेटफर्म छन्। त्यसको प्रयोग गर्दै सेबोनले आफ्नो भूमिका सशक्त बनाउँदै जानुपर्ने पनि देखिन्छ। अहिले जति पनि कानुन र नीतिनियम कार्यान्वयनमा छन्, जसमा अपुरो, अधुरो देखिन्छ। यसर्थ यसलाई पूरा गर्ने काममा पनि ढिलाइ गर्नु हुँदैन।
यस्ता अधुरा कानुनलाई पूर्णता दिने काम भइरहेको छ। आगामी दिनमा पनि सरकारले यसतर्फ गम्भीर भएर लाग्ने छ। सेयर बजारमा प्रतिस्पर्धा पनि हुन जरुरी छ। पहिला सीमित ब्रोकर भएकोमा अहिले त्यो बढेर गएको छ, जसले बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।
(अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा सोमबार राजधानीमा आयोजित विश्व लगानीकर्ता सप्ताह उद्घाटनमा दिएको मन्तव्यको सम्पादित अंश)