काठमाडौं । हालसम्म झन्डै १३ सय मेगावाटका नयाँ जलविद्युत् आयोजना अध्ययन भएका छन् । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत विद्युत विकास विभागले ठूला तथा साना गरी १३ सय मेगावाट बराबरका गरी ६ ओटा जलविद्युत आयोजनाका अध्ययन सकिएको हो । अध्ययन गरिएका आयोजना निर्माण प्रक्रियामा जान सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार थप ८ हजार मेगावाटका विभिन्न जलविद्युत् आयोजना अध्ययनको क्रममा रहेका छन् । सरकारले दश वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य हसिल गर्न नयाँ जलविद्युत् आयोजनको खोजी गर्न थालेको हो ।
सबैभन्दा ठूलो जलविद्युत् आयोजना १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना पनि अध्ययन पूरा गर्ने आयोजनाको सूचीमा छ । त्यस्तै, ४८ मेगावाटको भेरी बबई डाइभर्सन, २.५ मेगावाटको डोटीगढ, ९ मेगावाटको तल्लो चेपेखोला, १२.५ मेगावाटको मैवाँ खोला जलविद्युत् आयोजना र ०.५ मेगावाटको मुस्ताङ वायु ऊर्जाको अध्ययन भइसकेको छ ।
त्यस्तै, झन्डै ८ हजार मेगावाट क्षमताका ४९ ओटा आयोजना भने अध्ययनका क्रममा छन् । १८५३ मेगावाटको खिम्ती सिवालय जलाशययुक्त जलविद्युत् आयोजना, १११६ मेगावाटको सुनकोशी–२ जलविद्युत् आयोजना, ६७९ मेगावाटको तल्लो अरुण, ५३६ मेगावाटको सुनकोशी–३, ५१० मेगावाटको बुर्तिबाङखोला जलविद्युत् आयोजना, ४१० मेगावाटको नलस्याउगढ जलाशय आयोजना र ३७२ मेगावाटको अरुण–४ लगायतका अन्य आयोजना अध्ययनका क्रममा रहेको विभागले जनाएको छ ।
अहिले २५ सय मेगावाटका जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनको सम्झौता भइ निर्माणाधीन अवस्था रहेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इप्पान) ले जनाएको छ ।
निजी क्षेत्रको लगानीमा रहेका ती आयोजना २ वर्षभित्र सम्मपन्न हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । झन्डै २६ सय मेगावाटका विभिन्न आयोजनाको वित्तीय व्यवस्थापनको सम्झौता हुन बाँकी छ । ती आयोजना पनि एक वर्षभित्र निर्माणको चरणमा अघि बढ्ने इप्पानको दाबी छ । अहिले निजी क्षेत्रबाट निर्माण भएका जलविद्युत् आयोजनाबाट ५२१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
सरकारले लिएको लक्ष्यअनुसार ३ वर्षमा तीन हजार मेगावाट विद्युत् निजी क्षेत्रका जलविद्युत् आयोजनाबाटै उत्पादन हुने अवस्था रहेको इप्पानका उपाध्यक्ष कुमार पाण्डेले बताए ।
आगामी आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित झन्डै १२ सय मेगावाट विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणको दाबी छ । चालू आर्थिक वर्षमा १५० मेगावाटका जलविद्युत् आयोजना निर्माण भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले चालू आवमा २३८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो ।