काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रस्तावनामा लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामाजिक स्रोत–साधनको दिगो परिचालन अर्थात् प्रतिस्पर्धालाई स्वीकारिएको छ।
प्रस्तावनामा उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम गर्ने उल्लेख छ।
यसको अर्थ प्रतिस्पर्धामार्फत सेवा प्रवाहको परिकल्पना गरिएको हो। तर, रास्वपाका सांसदहरु आफ्नो प्रस्तावनासमेत नपढी एकाधिकार बजार हुनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।
केही दिनअघि रास्वपा सांसद सोविता गौतमले सरकारी स्वामित्वको नेपाल एयरलाइन्सबाट ग्राउन्ड ह्यान्डलिङ खोस्न नहुने बताइन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रतिस्पर्धामार्फत ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिन खोजेपछि रास्वपा सांसद गौतमले त्यसको विरोध गरेकी हुन्। जबकि उनको अभिव्यक्ति आफ्नै पार्टीको प्रस्तावनाविरुद्ध छ।
नेपाल एयरलाइन्स प्रतिस्पर्धात्मक हवाई सेवा प्रवाह गरेर चल्नुपर्ने व्यावसायिक संस्था हो। हवाई व्यवसाय उसको मुख्य पेसा हो। तर, निगमले हवाई सेवालाई चुस्त बनाएर आम्दानी गर्नुपर्ने ग्राउन्ड ह्यान्डलिङलाई मुख्य व्यवसाय बनाएको छ।
त्यति मात्रै होइन, नेपाल वायुसेवा निगमले दिँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवासमेत न्यून गुणस्तर मात्रै छैन, संसारकै सबैभन्दा महँगो पनि छ।
त्यही भएर नियामक निकाय प्राधिकरणले प्रतिस्पर्धामार्फत ग्राउन्ड ह्यान्डलिङ सेवा सुचारु गराउन थालेको थियो। त्यसैमा सांसद गौतमले आपत्ति जनाउँदै निगमबाट ग्राउन्ड ह्यान्डलिङ गराउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ज्ञापनपत्र बुझाइन्।
त्यति मात्रै होइन, रास्वपा सांसद गणेश पराजुलीले केही दिनअघि उद्योग समितिको बैठकमा हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट पनि राज्य आफैंले चलाउनुपर्ने र त्यसका लागि आवश्यक रकम सरकारले उपलब्ध गराउनुपर्ने भन्दै समितिमा कड्किए। पराजुलीको यो अभिव्यक्ति पनि उनकै पार्टीले बनाएको प्रस्तावनाको विपक्षमा छ।
रास्वपाले प्रतिस्पर्धात्मक बजार निर्माण भनिरहेका बेला त्यही पार्टीका सांसदहरु सरकार आफंले व्यवसाय चलाउनुपर्छ भनिरहेका छन्। उसै पनि सार्वजनिक संस्थानमाथि सरकारले गरेको लगानी बालुवामा पानीजस्तै भइरहेको अवस्था छ। ४४ संस्थानमध्ये २५ वटा मात्रै नाफामा छन्। बाँकी सबै संस्थान घाटामा छन्। त्यहाँ कार्यरत कर्मचारीलाई तलब खुवाउन सरकारले हरेक वर्ष ठूलो धनराशि खर्च गरिरहेको छ।
सार्वजनिक संस्थानलाई निजीकरण गरेर राज्यले आफ्नो दायित्व पन्छाउनुपर्ने बेला नयाँ भनिएका पार्टीका सांसदहरु सरकारले लगानी बढाएर चलाउनुपर्ने वकालत गरिरहेका छन्।
नेवानिको मुख्य काम ग्राउन्ड ह्यान्डलिङ होइन। हवाई सेवा उसको मुख्य व्यवसाय हो। नेवानि विमानस्थलमा जहाज घाम तपाएर ग्राउन्ड ह्यान्डलिङको आम्दानीमा रमाइरहेको छ।
आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति हेर्दा आधाभन्दा बढी संस्थान घाटामा छन्। सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ६ खर्ब १८ अर्ब नाघिसकेको छ। रास्वपा सांसद अझै संस्थानमा लगानी बढाउन सरकारमाथि निरन्तर दबाब दिइरहेका छन्।
नाफामा रहेका २५ वटा संस्थानबाट १ प्रतिशत मात्रै लाभांश प्राप्त गरेको अवस्था छ। हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, नेपाल औषधी लिमिटेड, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल रेल्वे कम्पनी, विशाल बजार कम्पनी, सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र, विद्युत् उत्पादन कम्पनी र नेपाल खानेपानी संस्थान छन्।
नेपालको ग्राउन्ड ह्यान्डलिङ संसारकै सबैभन्दा महँगो छ। त्यसैका कारण नेपालमा पर्यटकको संख्या वृद्धि हुन सकेको छैन। अहिले पनि संसारका कयौं राम्रा एयरलाइन्स नेपालको ग्राउन्ड ह्यान्डलिङ शुल्क बढी भएकै कारण आएका छैनन्। यहाँको शुल्क महँगो हुनेबित्तिकै त्यसको सीधा असर यात्रुको टिकटमा पर्छ। नेपाल आउनुभन्दा अन्य देश जान सस्तो पर्ने भएकाले पर्यटकको गन्तव्य मोडिन थालेको छ।
नेवानिको मुख्य काम ग्राउन्ड ह्यान्डलिङ होइन। हवाई सेवा उसको मुख्य व्यवसाय हो। नेवानि विमानस्थलमा जहाज घाम तपाएर ग्राउन्ड ह्यान्डलिङको आम्दानीमा रमाइरहेको छ। अहिले क्यानले प्रतिस्पर्धामार्फत ग्राउन्ड ह्यान्डलिङ सेवा सुरु गर्न लागेपछि रास्वपा उपसभापति डोलप्रसाद अर्यालसमेत नेवानिकै पक्षमा छन्। गौतम पनि उनैलाई पछ्याइरहेकी छन्।
नेवानिको सेवामा एकातिर यात्रुको लगेज चोरी हुने, फुट्ने, सामान चोरी हुनेलगायतका समस्या छँदै छन्। त्यतातिर ध्यान नदिएर विभिन्न विकृति देख्दादेख्दै गौमत नेवानिको पक्षमा किन उभिन पुगिन्?
सांसद गौतम नेवानिको पक्षमा उभिनुको कारण
गौतम पति गृहेन्द्र घिमिरे नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग हिमचिम छ। क्यानले नेवानिको एकाधिकार खोसेर प्रतिस्पर्धामार्फत सेवा सुचारु गर्न खोजेपछि अधिकारीले घिमिरेलाई समाएका थिए। उनै घिमिरेको सल्लाहमा गौतमले ग्राउन्ड ह्यान्डलिङ खोस्न नहुने अभिव्यक्ति दिएको नेवानिका एक अधिकारीले बताए।
के भन्छन् सांसद पराजुली
सांसद पराजुलीले उदयपुर तथा हेटौंडा सिमेन्टमा थप लगानी गरेर चलाउनुपर्ने धारणा आफूले नराखेको बताए। ‘वास्तविक अवस्था बुझ्न अध्ययन गरौं भनेको मात्र हो,’ उनले भने। उनका अनुसार राज्यले पैसा हालेर उद्योग चलाउनुपर्छ भनेर संसदीय समितिले भनेकै छैन।
‘पहिले अध्ययन गरौं। त्यसपछि मात्रै केही गर्न सकिन्छ हेरौं भनेको हो। नागरिकले तिरेको कर दोहन गराउन खोजेको होइन।’ यद्यपि, सम्भावना भएका उद्योगलाई चलाउने उपायबारे छलफल गरेको पराजुली बताउँछन्।
के भन्छिन् सांसद गौतम
नेवानिबाट कुनै हालतमा ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न नहुने अडानमा रहेकी सांसद सोविता गौतम त्यसो गरिए सरकारी राष्ट्रिय ध्वजावाहक बन्द हुने बताउँछिन्। क्यान आफू नसु्रधिने तर सरकारी कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ खोसेर अर्को कम्पनीलाई दिन नहुने उनको तर्क छ। यस विषयमा रास्वपा नेवानिकै पक्षमा उभिने उनले दाबी गरिन्।
‘नेवानिसँग ठूलो अनुभव छ। जनशक्ति छ। उसलाई ग्राउन्ड ह्यान्डलिङ खोसेर नयाँ कम्पनीलाई दिँदा सेवाको गुणस्तर खुम्चिन सक्छ’, सांसद गौतमले भनिन्। सरकारी संस्थान घाटामा जाँदै बन्द हुने अवस्था रहेका बेला यही मोडललाई निरन्तर जारी राखिए वा नेवानिको ग्राउन्ड ह्यान्डलिङ खोस्ने हो भने बन्द हुने उनले बताइन्। नेवानिको मुख्य आम्दानीको स्रोत भनेको ग्राउन्ड ह्यान्डलिङ नै भएकाले अरुलाई दिन नहुने गौतम सुनाउँछिन्।