काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रभावकारी रुपमा काम गर्न नसक्दा यो वर्ष करोडौ रुपैयाँ बीमा शुल्क (प्रिमियम) गुमाएको छ ।
काम गर्न नसकेपछि कर्मचारी सञ्चय कोष आफैले स्वास्थ्य बीमा योजना सुरु गरेपछि बीमा कम्पनीले २५ करोड २० लाख रुपैयाँ प्रिमियम गुमाएको हो । ठुलो रकम प्रिमियम गुमाएपछि उसको नाफा घट्ने संभावना बढेको छ ।
सञ्चय कोषले मंसिर १ गतेदेखि लागु हुने गरी सञ्चयकर्ता औषधोपचार तथा घातक रोगको बीमा योजनालाई सञ्चयकर्ता स्वास्थ्योपचार खर्चको शोधभर्नामा रुपान्तरण गरी आफैले योजना सञ्चालन गरेको छ । राष्ट्रिय बीमा कम्पनीमा सञ्चय कोषको २२ प्रतिशत स्वामित्व छ । कोष कम्पनीको संस्थापक सेयरधनी हो ।
गत वर्ष मंसिरदेखि लागु हुनेगरी कोषले राष्ट्रिय बीमा कम्पनीमा सञ्चयकर्ताको स्वास्थ्य बीमा गरेको थियो । बीमा कम्पनीले दावी सेटलमेन्ट गर्न नसक्दा कोष आफैले योजना सञ्चालन गरेको हो ।
कोषको विधमान संरचना बलियो नहुँदा दावी सेटेलमेन्ट गर्न नसकेको र सञ्चयकर्ताको गुनासा धेरै आएपछि आफैले बीमा योजना सञ्चालन गर्न लागेको कोषले जनाएको छ ।
सञ्चयकर्ताको विश्वास बढेको र उनीहरुको माग कोषले नै गर्नुपर्छ भन्ने आएकाले यो वर्षदेखि आफैले बीमा योजना लागु गरेको प्रशासक तुलसी गौतमले बताए ।
कोषले बीमा कम्पनीलाई प्रति सञ्चयकर्ता ४२० रुपैयाँ प्रिमियम भुत्तानी गरेको थियो । रोगको प्रकृति हेरी न्युनतम १० हजारदेखि घातक रोग लागेकालाई १० लाख रुपैयाँसम्म औषधोपचार खर्चको व्यवस्था बीमा योजनामा गरिएको थियो ।
कोषले ल्याएको नयाँ योजनाअनुसार सञ्चय कोष कट्टी जम्मा गरेको ६ महिना पुरा भएका र नियमित रुपमा कोषमा रकम जम्मा गरेका योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
यस्तै अस्पतालमा भर्ना भई साधारण रोगको उपचार गराउन सञ्चयकर्ताले एक आर्थिक वर्षमा बढीमा दुई पटक अधिकतम १ लाख र घातक रोगको उपचार गराउने सञ्चयकर्ताले नोकरी अवधिमा एक पटक वा पटकपटक गरी १० लाख रुपैयाँसम्मको शोधभर्ना पाउने गौतमले जानकारी दिए ।
घातक रोगको उपचार अधिकतम १० लाख रुपैयाँमा नबढ्ने गरी र रोग पहिचानमा भएको खर्च मध्ये बढीमा १ लाख रुपैयाँ अस्पताल भर्ना भई उपचारका क्रममा भएको खर्च मध्ये बढीमा ७ लाख र अस्पतालबाट डिस्चार्ज भएपछि फलोअपका क्रममा भएको खर्च मध्ये बढीमा २ लाख रुपैयाँ शोधभर्ना हुने कोषले जनाएको छ ।
साधारण रोगको हकमा एक पटकमा १० हजार भन्दा कम र घातक रोगको हकमा २५ हजार रुपैयाँ भन्दा कम शोधभर्ना नहुने व्यवस्था गरिएको छ । कडा तथा गम्भीर रोगको उपचार गर्न लाखौ रुपैयाँ खर्च लाग्ने भएकाले संचयकर्तालाई कोषले सहुलियत दिन लागेको कोषको भनाई छ ।
कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ ।
याे पनि पढ्नुहाेस्
सञ्चय कोष आफैले सञ्चयकर्ता स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने, राष्ट्रिय बीमा कम्पनीलाई नदिने