काठमाडौं । नेपालमा उत्पादन हुने बिजुलीको पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यापारिक दरमा मूल्य निर्धारण भएको छ । साथै, नेपाली आयोजनाले बंगलादेशमा बिजुली निकासीका लागि बाटो पनि खुला भएको छ ।
लोडसेडिङ बढ्दै गएपछि नेपालले भारतबाट महंगोमा बिजुली खरिद गर्दै आएको छ । नेपालबाट निकासी हुने बिजुलीको मूल्य कति हो ? अहिलेसम्म दर तय भएको थिएन । बंगलादेशले तय गरिदिएको छ ।
बंगलादेशले प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादिन हुने मध्ये ५०० मेगावाट बिजुली प्रतियुनिट ७.७१ सेन्ट डलर अर्थात हाल डलरको मूल्यअनुसार करिव ८ रुपैयाँ ७० पैसामा खरिद गर्ने भएको छ ।
बंगलादेशसंग बिजुलीको मूल्य तय भएपनि भारतसंग हुन सकेको छैन । भारतले बढी भएको किन्ने मात्र बताउँदै आएको छ ।
बंगलादेशसंगको सम्झौताले नेपाली बिजुलीले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउनुका साथै नयाँ दर निर्धारण भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बताउँछन ।
‘केही रकम तलमाथि होला तर जीएमआर र बंगलादेश सरकारसंग भएको सम्झौताले मूल्यमा नयाँ बेञ्चमार्क तय गरेको छ’ उनले भने ।
उनले २५ वर्षसम्म डलरमा भुत्तानी पाउने सम्झौता राम्रो भएको बताए । नेपाली बिजुली लगानीकर्ताले पनि अन्तर्राष्ट्रिय बजारमा छिर्ने बाटो पाएको उनले बताए ।
जीएमआर र बंगलादेश सरकारबीच सम्झौता, कारोबार र मूल्यको फरम्याट बनेको पाण्डेको भनाई छ । बंगलादेशले १० हजार मेगावाट बिजुली नेपालबाट खरिद गर्ने प्रतिवद्धता जनाएको छ ।
बंगलादेश सरकारले औपचारिक रुपमा नेपालबाट बिजुली खरिदको निर्णय गरेको ढाका ट्रिब्युनको अनलाइन संस्करणमा उल्लेख छ । माथिल्लो कर्णाली आयोजनाको लगानीकर्ता भारतको जीएमआर इनर्जी लिमिटेडले दर निर्धारण गरेर एउटा बेञ्चमार्क तयार पारेको हो ।
बंगलादेशले जीएमआरको विद्युत एनपीटीसी विद्युत व्यापार निगम (एनभीभीएन) मार्फत खरीद गर्ने छ । भारतबाट बगलादेशसम्म बिजुली पुर्याउन एनभीभएिनलाई तिर्नुपर्ने प्रसारणलाइन शुल्क (ह्विलिङ चार्ज) भने खुलाइएको छैन ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । ढाका ट्रिब्युनका अनुसार सो बिजुली खरिद गरेवापत बंगलादेशले जीएमआरलाई ३८ हजार १६० करोड टाँका भुत्तानी गर्ने छ ।
बंगलादेश जीएमआरबाट माथिल्लो कर्णालीको बिजुली २५ वर्षसम्म विद्युत खरीद गर्ने छ । लगानी बोर्ड र जीएमआरबीच २५ वर्षका लागि विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।
भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत बंगलादेश पुग्ने भएको छ । बिजुली किन्ने निश्चित भएकाले जीएमआरले आयोजना बनाउन लगानी जुटाउन बाटो खुलेको छ । बिजुलीको बजार सुनिश्चित नहुँदा जीएमआरले लगानी जुटाउन सकेको थिएन । माथिल्लो कर्णाली आयोजनाको अनुमानित लागत १ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।
बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत खरीद सम्बन्धी निर्णय छिट्टै हुने बताएका थिए ।
बंगलादेशले नेपालबाट बिजुली खरिद बढाएर आफनो थर्मल प्लाण्टलाई विस्थापनको तयारी थालेको छ । बगलादेशले भारतबाट ठुलो परिमाणको बिजुली खरिद गरिरहेको छ ।
नेपालको बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्याउन त्रिदेशीय ऊर्जा बैठक पनि हुँदै छ । केही महिनाभित्र नेपाल, भारत र बंगलादेशबीच त्रिदेशिय ऊर्जा बैठक हुने बताइएको छ ।