काठमाडौं। आर्थिक मन्दीका कारण नयाँ उद्योग स्थापना तथा सञ्चालन नभइरहेका बेला उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले सिरिन्ज उद्योग सञ्चालनमा ल्याएको छ। ललितपुरको चुनिखेलमा राणा समूहले फरच्युना हेल्थ केयर प्रालिमार्फत सिरिन्ज उत्पादन सुरु गरेको हो।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्य रहेको उद्योगका अध्यक्ष राणाले जानकारी दिइन्। नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिन्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगले राखेको उनको भनाइ छ।
![438154236_1435365893780729_8161243756206952343_n-1713430722.jpg](https://www.capitalnepal.com/uploads/posts/438154236_1435365893780729_8161243756206952343_n-1713430722.jpg?timestamp=1713430722085)
उद्योगबाट दैनिक ३ देखि ५ लाख सिरिन्ज उत्पादन हुनेछ। तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको उद्योगको बिहीबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन्।
उद्योग चार रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्योगमा जग्गासहित करिब ५० करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष राणाले बताइन्। कोभिडअघि(सन् २०१९)देखि उद्योग सञ्चालन तयारी भए पनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको उनले बताइन्।
![438083259_1161157501548454_7084477553029109201_n-1713430737.jpg](https://www.capitalnepal.com/uploads/posts/438083259_1161157501548454_7084477553029109201_n-1713430737.jpg?timestamp=1713430737153)
‘कोभिडका कारण हामीले सिरिन्ज उत्पादन गर्ने मेसिन ल्याउन सकेनौं,’ अध्यक्ष राणाले भनिन,‘ त्यसपछि जारी आर्थिक मन्दीको प्रभावले पनि उद्योग सञ्चालनमा ढिलाइ भयो।’ उद्योगले प्रारम्भिक चरणमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। नेपालभरि सिरिन्ज बिक्री वितरण गर्ने भएकाले रोजगारी संख्या अझै थपिँदै जाने विश्वास लिएको छ।
उद्योगमा राणासहित तीन जना सञ्चालक समिति सदस्य रहेका छन्। उद्योगको अध्यक्षमा राना, प्रबन्ध सञ्चालकमा ईश्वर जिसी र सञ्चालकमा बाबुकाजी कार्की रहेका छन्। कार्की ओम अस्पतालका पूर्वप्रबन्धक सञ्चालक हुन्। उनी हाल बूढानीलकण्ठ हेरिटेजद्वारा सञ्चालित लेमनट्री प्रिमियरका सञ्चालकसमेत हुन्। तीबाहेक अन्य लगानीकर्ता पनि स्वास्थ्य क्षेत्रकै हुन्।
![438095219_2126815021050689_6871700483913696918_n-1713430752.jpg](https://www.capitalnepal.com/uploads/posts/438095219_2126815021050689_6871700483913696918_n-1713430752.jpg?timestamp=1713430752147)
फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिन्जले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट समेत मान्यता लिइसकेको छ। यद्यपि सिरिन्जले डब्लुएचओबाट मान्यता नलिए पनि हुन्छ। तर, गुणस्तरमा कुनै सम्झौता नगर्ने उद्देश्य रहेकाले डब्लुएचओबाट समेत मान्यता लिइएको अध्यक्ष राणाले जानकारी दिइन्।
उद्योगले सिरिन्जसहित अन्य मेडिकलजन्य सामग्रीसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ। ‘अहिले केही सामग्री पाइपलाइनमा राखिएको छ,’ अध्यक्ष राणाले भनिन्, ‘सिरिन्ज बजारमा गएलगत्तै अर्को उत्पादनमा लाग्छौं।’ नेपालमा फरच्युना हेल्थ केयरसहित सिरिन्ज उत्पादन गर्ने उद्योग तीन पुगेका छन्।
![438095286_1784363822048440_3409642725421258509_n-1713430771.jpg](https://www.capitalnepal.com/uploads/posts/438095286_1784363822048440_3409642725421258509_n-1713430771.jpg?timestamp=1713430774002)