भदौ २३ र २४ को जेनजी आन्दोलनले १२ वटा स्टोर खरानीमा परिणत हुँदा धेरैले अनुमान गरेका थिए–अब भाटभटेनी सुपरमार्केटको यात्रा कठिन मोडमा पुग्यो। देशकै ठूलो खुद्रा व्यापार सञ्जाल मानिने यो संस्थाको संरचना मात्र जलेको थिएन, हजारौं कर्मचारीको मनोबल र उपभोक्ताको भरोसा पनि हल्लिएको थियो।
तर, आगोको धुवाँ सेलाउन नपाउँदै पुनर्निर्माणको प्रतिबद्धतासहित अघि बढेको व्यवस्थापनले ८३ दिनमै बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा ल्यायो। त्यससँगै अध्यक्ष मीनबहादुर गुरुङको अनुहारमा फेरि मुस्कान फर्किएको देखियो।

आन्दोलनका बेला जलाइएका स्टोरको दृश्य केवल भौतिक क्षतिमा सीमित थिएन। बजार अर्थतन्त्रमा निजी क्षेत्रप्रतिको विश्वास, लगानी वातावरण र रोजगारी स्थायित्वबारे पनि प्रश्न उठेको थियो। भाटभटेनी जस्तो ठूलो सञ्जालमा एकै पटक १२ वटा स्टोरमा क्षति पुग्नु सामान्य घटना थिएन। धेरैले यो क्षतिबाट उकासिन वर्षौं लाग्ने आकलन गरेका थिए। तर व्यवस्थापनले संकटलाई चुनौतीका रूपमा लिएर पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढायो।
मंसिर १९ मा वेयरहाउस सञ्चालनमा आयो। त्यसपछि माघ २८ गते कोटेश्वर र फागुन १४ गते महाराजगञ्जस्थित स्टोर पुनः सञ्चालनमा आए। छोटो अवधिमा तीनवटा मुख्य संरचना सञ्चालनमा ल्याउनु केवल संरचनागत पुनःस्थापना मात्र होइन, संगठनात्मक क्षमता र समन्वयको उदाहरण पनि हो। वेयरहाउस पुनः सञ्चालन हुनु आपूर्ति शृंखलाका लागि निर्णायक थियो। स्टोरहरू खुल्नु उपभोक्ताको मनोविज्ञानमा सकरात्मक संकेत थियो ‘भाटभटेनी फर्किएको छ।’
वेयरहाउस र कोटेश्वर स्टोर उद्घाटनका क्रममा केही भावुक देखिएका गुरुङ महाराजगञ्ज उद्घाटनमा भने हल्का मुस्कानसहित देखिए। उनका अनुहारमा थकानका रेखा अझै प्रस्ट थिए, तर आत्मविश्वास पनि उत्तिकै बलियो देखिन्थ्यो। पत्रकारहरूले ‘तीन स्टोर खुलेपछि तपाईंको हाँसो पनि फर्किएको हो’ भनेर सोध्दा उनले स्पष्ट रूपमा पीडा स्वीकारोक्ति गरे।
‘भित्रभित्रै धेरै पीडा थियो। कल्पना नै नगरेको घटना घट्यो। तर आज केही शान्त भएको छु,’ उनले भने, ‘भित्री पीडा लुकाएर भए पनि हाँस्ने प्रयास गरिरहेको छु।’ उनको यो अभिव्यक्ति केवल व्यक्तिगत भावना मात्र थिएन, निजी क्षेत्रको प्रतिनिधि आवाज पनि थियो।

व्यवसायीका लागि संरचना जलेको क्षति बिमाले पूर्ति गर्न सक्छ, तर ब्रान्डको प्रतिष्ठा र कर्मचारीको मनोबल जोगाउनु ठूलो चुनौती हुन्छ। गुरुङले भने, ‘मैले त्यो चुनौतीलाई नेतृत्वमार्फत सामना गरिरहेको छु, हेर्दै जाउ भगवानले सदैव साथ दिनुहुनेछ।’
स्टोर पुनर्निर्माणका लागि उनी स्वयं बिहान ७ बजेदेखि राती ९ बजेसम्म साइटमै खटिएको बताउँछन। ‘मसँगै दुई हजार बढी जनशक्ति फिल्डमा उत्रिएको थियो,’ उनले भने, ‘कर्मचारीको अथक मिहिनेतले खरानी भएको संरचना उठाएर सञ्चालनमा आएको छ। म उहाँहरूप्रति सदैव ऋणी रहनेछु।’
भाटभटेनीको पुनरागमनले बजारमा सकारात्मक तरंग ल्याएको छ। खुद्रा व्यापार क्षेत्रमा यसको उपस्थिति आपूर्ति शृंखला, साना उत्पादक र आयातकर्तासँग प्रत्यक्ष जोडिएको छ।
मीनबहादुरका साझेदार एवं पूर्वबैंकर किरण श्रेष्ठले पुनर्निर्माण केवल पर्खाल ठड्याउने प्रक्रिया मात्र नभई खरानी भएको संरचना हटाउने, विद्युत् र सुरक्षा प्रणाली पुनः जडान गर्ने, आपूर्ति पुनः समन्वय गर्ने, नयाँ स्टक व्यवस्थापन गर्ने सबै काम समानान्तर रूपमा अघि बढाउने क्षमतालाई प्रशंसा गरे।
एउटा स्टोरमा करिब १ लाख ५० हजार बढी प्रकारका सामान पाइन्छन्। ती सामान ल्याउन एलसी खोल्ने, ढुवानी गर्ने र व्यवस्थापन गर्ने काम एकसाथ बढाउन निकै कठिन हुने गरेको बताउदै त्यसलाई पनि सहज व्यवस्थापन गर्न सक्नु भनेको नेतृत्वको उच्च क्षमता भएको उनले बताए।
भाटभटेनीको पुनरागमनले बजारमा सकारात्मक तरंग ल्याएको छ। खुद्रा व्यापार क्षेत्रमा यसको उपस्थिति आपूर्ति शृंखला, साना उत्पादक र आयातकर्तासँग प्रत्यक्ष जोडिएको छ। स्टोर बन्द हुँदा सयौं साना आपूर्तिकर्ता प्रभावित भएका थिए। पुनः सञ्चालनसँगै उनीहरूलाई पनि राहत पुगेको उनले बताए।
अहिले पनि सबै १२ स्टोर पूर्ण रूपमा सञ्चालनमा आएका छैनन। बाँकी संरचना पुनर्निर्माण प्रक्रियामा छन्। गुरुङले कर्मचारीसँग प्रत्यक्ष संवाद गर्दै मनोबल उच्च राख्ने प्रयास गरे। श्रमिकको मिहिनेतलाई खुलेर प्रशंसा गरे।
‘मेरो सपना श्रमिकको मिहिनेतले सार्थकता पाउँदै छ,’ उनले उद्घाटनमा भनेका शब्दमा सबैले ताली मात्र बजाएनन्, भावुक पनि बने। भावुक बन्नुको एउटै कारण थियो– यति ठूलो विध्वंश हुँदा पनि एक जना कर्मचारीलाई पनि हटाएनन्। उनीहरुको सेवाशुल्क पनि घटाएनन्। मुलुकभरका भाटभटेनीमा १० हजारले काम गरिरहेका छन्।
केही समय दान बन्द गर्छु

मीनबहादुरलाई परोपकारको सारथि पनि भनिने गरेको छ। स्वास्थ्य क्षेत्रमा ठूलो रकम दान गर्दै आएका गुरुङ मुलुकमा आउने विपद् बेला सबैभन्दा पहिला सहयोगको हात फिजाउने व्यक्तिसमेत हुन्। तर, जेनजी आन्दोलनको क्रममा धेरै स्टोर खरानीमा परिणत भएपछि अहिले विस्तारै संरचना निर्माणमा जुटेका छन्।
‘कमाएको रकमबाट केही पैसा दान गर्दै आएको थिएँ। आन्दोलनकारीले मेरा संरचना ध्वस्त बनाउनुभन्दा यसको लागत बराबरको रकम दान गर्न भनेको भए गरिदिन्थें,’ सञ्चालक गुरुङले भने, ‘अब केही समय आफंै उभिन्छु र दान गर्ने अभियानलाई अगाडि बढाउँछु।’