काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि मर्चेन्ट बैंकरहरुले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन रोकेका छन ।
चालु आर्थिक वर्ष सुरु भएयता सनराइज क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सनराइज फस्र्ट म्युचअल फण्ड मात्र निष्कासन गरेको छ ।
नेपाल धितोपत्र बोर्डमा सानिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ र लक्ष्मी क्यापिटल लिमिटेडले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्कासनका लागि आवेदन दिएका छन ।
अन्य मर्चेन्ट बैंकरहरुले म्युचअल फण्ड निष्कासनका लागि आवेदन दिएका छैनन । सेयर बजार निरन्तर ओरालो लागेपछि यसको असर म्युचअल फण्डमा परेको मर्चेन्ट बैंकरको भनाई । सञ्चालनमा रहेका अधिकाँश म्युचअल फण्डको प्रतिफल पनि घटेको छ ।
सेयर बजारमा आएको गिरावटका कारण म्युचुअल फण्ड निष्कासनमा कमी आएको हुन सक्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘ सेयर बजारमा अलि चार्म देखिएको छैन,त्यसैले कम भएको हुन सक्छ ।’ प्रवक्ता गिरीले क्यापिटल नेपालसँग भने ।
।
सेयर बजार घट्दा म्युचअल फण्डको खुद सम्पत्ति पनि कम हुदै गएको छ । म्युचअल फण्डको अधिकांश लगानी सेयरमा हुने गरेको छ । पछिल्लो समयमा बजार घटेपछि यसको असर फण्डको खुद सम्पत्तिमा परेको हो । हाल सञ्चालनमा रहेका १ दर्जन बढी म्युचअल फण्डमध्ये अधिकाँशको खुद सम्पत्ति घटेको छ ।
खुद सम्पत्ति घट्दै गएपछि लगानीकर्ताको यसप्रति अविश्वास बढ्दै गएको लगानीकर्ताको भनाई छ । एकतर्फ बजारमा सेयरको आपूर्ति बढेका बेला संस्थागत लगानीकर्ता छैनन ।
अघिल्लो वर्ष अधिकाँश मर्चेन्ट बैंकरले म्युचअल फण्ड निष्कासन गरेका थिए । म्युचअल फण्ड पनि पुँजीबजारको एउटा औजार हो । यो साता सेयर बजारमा सुधार आएको छ । सातामा बजार झण्डै ४३ अंक बढेर नेप्से परिसुचक १ हजार २ माथि पुगेको छ ।
के हो म्युचुअल फण्ड ?
विभिन्न व्यक्ति वा संस्थाको सहभागिता रहने गरी परिचालन गरिएको बचत रकमलाई आफ्नो जिम्मा लिई त्यसको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीलाई समानुपातिक तरिकाले वितरण सचालन गरेको लगाानी कोषलाई सामूहिक लगानीकोष ( म्युचुअल फण्ड) हो ।
कस्तो हुन्छ यसको संचरना ?
म्युचुअल फण्डको संरचनामा कोष प्रवद्र्धक,कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् । म्युचुअल फण्डले सामूहिक लगानीबाट संकलित पुँजीले विभिन्न योजनाहरु सञ्चालन गर्ने गरिन्छ ।
सामूहिक लगानी योजना ट्रष्टको रुपमा स्थापना भएको हुन्छ । म्यूचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाहरु बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् ।