काठमाडौं । उत्पादनमुलक उद्योगमा जमेको आरएमसी ग्रूपले ५ सय ६५ रुपैयाँ फ्याक्ट्री प्राइससहित ‘तानसेन’ ओपीसी सिमेन्ट बजारमा ल्याएको छ । नेपाली बजारमा अन्य कम्पनीले ७ सय देखि ७ सय ५० रुपैयाँ प्रतिबोरासम्म ओपीसी सिमेन्ट बेचिरहेका छन् ।
चमत्कारिक मूल्य सार्वजनिक गरेर सिमेन्ट बजारमा ल्याउने घोषणा गरेको आरएमसी ग्रूपले अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ओपीसी सिमेन्ट बजारमा ल्याएको हो ।
११ हजार रुपैयाँ प्रतिटन क्लिङ्कर कारोबार हुँदा ८ सय रुपैयाँमा ओपीसी सिमेन्ट बेचिरहेका थिए । अहिले क्लिङ्करको मूल्य ७ हजार रुपैयाँमा झरेको छ । तर, ओपीसी सिमेन्टको मूल्य भने अहिले पनि ७ सय ५० रुपैयाँभन्दा बढी छ ।
‘क्लिङ्करको मूल्य ओरालो लाग्ने वित्तिकै सिमेन्टको मूल्य सोही अनुपातमा घट्नुपर्ने हो । तर, घटेन । हामीले थोरै नाफा राखेर ओपीसीको मूल्य ५ सय ६५ रुपैयाँ प्रतिबोरा उत्पादन गरेका छौं,’ आरएमसी ग्रूपका प्रवन्ध निर्देशक राजेश अग्रवालले भने, ‘अहिले बजारमा जुन मूल्यमा ओपीसी सिमेन्ट विक्री भइरहेको छ । त्यति मूल्य पर्नु नपर्ने हो । हामीले जुन मूल्य राखेर सिमेन्ट बजारमा ल्याएछौं, त्यसबाट पनि नाफा छ ।’
देशमा अत्यधिक मात्रामा पूर्वाधार निर्माण गनुपर्ने छ । ‘सडक, पुल, भववलगायतका ठूला पूर्वाधार बनाउनुपर्ने अहिलेको आवश्यकता छ,’ उनले भने, ‘पूर्वाधार विकासको मुख्य कच्चा पदार्थको रुपमा रहेको सिमेन्टको मूल्य भने अत्यधिक छ । सिमेन्टकोे मूल्य बढी हुने वित्तिकै पूर्वाधारको लगानी बढी हुन्छ ।’
आरएमसीले पाल्पा सिमेन्ट इन्डष्ट्रिजबाट तानसेन ब्रान्ड सिमेन्ट उत्पादन गरेको हो । नवलपरासीको सुनवलमा उद्योगले रहेको छ । नेपाली सिमेन्टको तुलनामा भारतीय सिमेन्ट सस्तो भएको र सरकारले भन्सारमा लगाइरहेको शुल्कलाई खारेज गनुपर्ने माग भइरहेका बेला पाल्पाले चमत्कारिक मूल्यमा ओपीसी सिमेन्ट बजारमा ल्याएको हो ।
९० प्रतिशत भन्दा कच्चा पदार्थ स्वदेशी हुँदा पनि नेपाली सिमेन्ट महँगो भएको सरकारी तवरबाट आवाज उठिरहेको छ । बजारमा होङ्सी सिमेन्टको प्रवेश पछि क्लिङ्करको मूल्य चमत्कारिक रुपमा घटेको हो भने तानसेन सिमेन्ट पनि ओपीसीको मूल्य झार्ने सम्भावना बढेको छ ।
याे पनि पढ्नुहाेस्