काठमाडौं। भारतको आर्थिक उदारीकरणको सूत्रपात गर्नमा भूमिका खेलेका पूर्वप्रधानमन्त्री स्व. मनमोहन सिंहको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।
दिल्लीको निगमबोध घाटमा गरिएको अन्त्येष्टिमा सिंहको पार्थिव शरीरमा पत्नी गुरुशरण कौर, तीन वटी छोरी क्रमशः उपिन्दर सिंह, दमन सिंह र अमृत सिंहले मुखाग्नि (दागबत्ती) दिए। यसअघि स्वं सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका थिए।

दिवंगत स्व. सिंहका तीन छाेरीसँग कांग्रेस नेता राहुल गान्धी। तस्बिर, दैनिक भास्कर
सिंहको पुस ११ गते ९२ वर्षको उमेरमा निधन भएपछि भारतमा सातदिने राष्ट्रिय शोक घोषणा गरिएको छ।
फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालय लगिएको थियो। स्व. सिंहको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाहलगायतका नेताहरू सहभागी भए। कांग्रेस आई अध्यक्ष सोनिया गान्धी, विपक्षी नेता राहुल गान्धीलगायतले पनि स्व. सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरे।
प्रधानमन्त्री मोदीले स्व. सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन्। नेता राहुलले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताए।


दिल्लीस्थित कांग्रेस मुख्यालयमा स्व. सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्न लागेकाे भीड।
सिंहको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले ’सच्चा राजनेता’ गुमाएको प्रतिक्रिया दिँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नमा स्व. सिंहको भूमिका रहेको स्मरण गरेका छन्।
कर्मचारीबाट राजनीतिमा होमिएका स्व. सिंहको पहिलो प्रधानमन्त्रित्वकालमा भारतमा आर्थिक उछालका लागि उच्च सम्मान गर्ने गरिएको छ। उनले भारतीय केन्द्रीय बैंकको गभर्नरको रूपमा काम गरेका थिए। आफ्नो पहिलो कार्यकालमा सिंहले ९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व दिएका थिए।-एजेन्सीकाे सहयाेग