काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले १४० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीलाई बिक्री गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
बीपीसीको हालै सम्पन्न २७ औं वार्षिक साधारणसभाले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको स्वामित्व बिक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
बीपीसी र ३ ओटा चिनियाँ कम्पनीले संयुक्त रुपमा स्थापना गरेको एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई बिक्री गर्ने छ । एसीआईजीमा बीपीसको १९.४ प्रतिशत सेयर रहेने छ ।
कम्पनीको अनुमतिपत्र (लाइसेन्स) तथा सबै दायित्व एससीआईजीमा हस्तान्तरण हुने छ । कम्पनीमा ८ लाख ८५ हजार ९६० कित्ता सेयर रहेकोमा ७ लाख १४ हजार ८४ कित्ता एससीआईजीको हुने छ ।
एससीआईजीमा एससीआईजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआईइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ ।
मनाङमा पर्ने १४० मेगावाटको सो आयोजनाबाट ६९ करोड ८२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । तल्लो मनाङ मस्र्याङदी आयोजना भन्दा तल दुई आयोजनासंग क्यासकेड अवधारणामा स्रोतको अधिकतम उपयोग हुने गरी बिजुली उत्पादन बढाउने लक्ष्य रहेको बीपीसीले जनाएको छ ।
आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ ।
विद्युतगृहमा ७१ मेगावाट क्षमताका २ वटा पेल्ट्रन टर्वाइनमार्फत बिजुली उत्पादन हुनेछ । आयोजनामा सुरुङको लम्बाइ ४.६ किलोमिटर लामो हुनेछ । हेड ३२० मिटर अग्लो हुनेछ ।
बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।