काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु जलविद्युतमा लगानी गर्न हच्किएका छन् । बैंकले जलबिद्युतका लगानी गर्नु अघि नेपाल विद्युत प्राधिकरणसंग परामर्श लिन शुरु गरेका छन् ।
लगानी गर्नुपूर्व आयोजनाका सबल तथा दुर्बल पक्षका बिषयमा बैंकहरुले जानकारी लिन थालेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
केही महिनायता जलविद्युतमा लगानी गर्न तयारीमा रहेका आयोजनाका बारेमा जानकारी लिन बैंकका कार्यकारी अधिकृत (सीईओ) हरु नै आउन थालेको उनले बताए ।
आयोजनमा पानीको वहाव, भूगर्भ, लगानी र प्रतिफललगायत इन्जिनियरिङ्ग पक्षका बारेमा सूचना लिने सीइओ आउने गरेका उनको भनाई छ ।
यसअघि बैंकहरुले लगानी गर्नुपूर्व प्राधिकरणमा जानकारी लिने गर्दैनथे । आयोजनाले गरेको अध्ययनकै आधारमा बैंकहरुले आफुखुसी लगानी गर्दै आएका थिए ।
‘पछिल्लो समयमा धेरै आयोजना समस्यामा परेपछि बैंकहरुले हामीसंग बुझेर मात्र लगानी गर्न थालेका छन’ अधिकारीले क्यापिटल नेपालसंग भने ‘आयोजनामा लगानी गर्ने बैंकहरुले धमाधम जानकारी लिन प्राधिकरणमा धाउन थालेका छन् ।’
बैंकहरुले नदीमा पानीको बहाव, वास्तविक ऊर्जा उत्पादन, प्रसारणलाइनको अवस्था, आयोजनाका सञ्चालकको व्यवहार र जोखिमका बारेमा जानकारी लिन थालेको उनले बताए । ‘२५ ओटा आयोजनाहरु रुग्ण भएपछि बैंकहरु थप सशंकित भएर हामीसंग जानकारी आएका हुन्’ उनले भने ।
कतिपय आयोजनाका प्रबद्र्धकहरुले लगानी बढाएर निमार्णपूर्व नै आफ्नो लगानी उठाउने आरोप लाग्ने गरेको छ । सोहि कारण पनि आयोजनाको विस्तृत अध्ययन नगर्दा धेरै समस्यामा आउने गरेको बुझाइ अधिकारीको छ ।
जलविद्युत आयोजना प्राकृतिक विपत्ति, ठेकेदार र सञ्चालकको लापरवाहीलगायत कारणले समयमा सम्पन्न नहुने र लागत बढ्ने गरेको छ । सार्वजनिक र निजी साझेदारीमा निर्माण भइरहेका अधिकाँश आयोजनाको समय लम्बिँदा यसको असर लगानीमा पर्छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२ मेगावाटको मिस्त्रीखोलगायत अधिकाँश आयोजना निर्धारित समय भन्दा ढिला सम्पन्न हुने अवस्थामा छन् ।
सोहि कारण प्राथमिक सेयर निष्कासन गेरका अधिकाँश आयोजनाको सेयर मूल्य प्रतिकित्ता सय भन्दा पनि कम छ । सेयर मूल्य कम भएपछि नयाँ जलविद्युत कम्पनीहरुले निष्कासन गर्न लागेको प्राथमिक सेयर (आईपीओ) समेत बिक्री नहुने अवस्था छ । सेयर बजारमा चिलिमे जलविद्युत, बुटबलपावर कम्पनी र सानिमा बाहेक अन्य कम्पनीको अवस्था कमजोर देखिएको छ ।
विद्युत प्राधिकरणका अनुसार २ हजार ३ सय मेगावाटका १ सय ३४ जलविद्युत आयोजनाहरुले लगानी जुटाउन बाँकी छ । यी आयोजनाको बैंक तथा वित्तीय संस्थाहरुले अध्ययन गरिरहेका छन । यी मध्ये अधिकाँशले विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेका छन् ।
चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ११ कम्पनीहरुले जलविद्युत आयोजना बनाउन लगानी जुटाएका छन । न्युनतम ५ देखि ९९.४ मेगावाट क्षमताका आयोजना बनाउन विकासकर्ताले लगानी जुटाएका हुन् ।
३०९ मेगावाटका ११ आयोजना बनाउन विभिन्न बैंकहरुले सहवित्तीयकरण मार्फत झण्डै ४८ अर्ब रुपैयाँ लगानी सम्झौता गरेका छन ।
यी आयोजनामा हिमालयन बैंक, नेपाल बैंक, माछापुच्छे बैंक, प्राइम कमर्शियल बैंक, कुमारी बैंक र नेपाल इन्फास्ट्रक्चर बैंकले ऋण लगानी सम्झौता गरेका छन् ।