काठमाडौं। लामो समय चलेको बैंकिङ क्षेत्रको कर्जा मन्दीको अवस्थाबाट बाहिर निस्कँदै गएकाे देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकले बैंकको कर्जा विस्तार बढ्दै गएको देखिएको हो।
अघिल्लो वर्षदेखि मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा रहँदा बैंकिङ क्षेत्रको कर्जा व्यवसायसमेत प्रभावित भएको थियो। अधिकांश क्षेत्रमा कर्जाको माग नभएको हुँदा बैंकरहरू संकलित निक्षेप राष्ट्र बैंकमा सस्तो दरमा (अधिकतम ३ प्रतिशत) राख्न बाध्य थिए।
झण्डै पछिल्लो दुई महिनायता बैंकहरूमा कर्जाको माग हुन थालेको राष्ट्र बैंकद्वारा प्रकाशित मासिक तथ्यांकले देखाएको छ। बैंकरहरू पनि अहिले कर्जाको माग बढ्न थालेको बताउँछन्।
चालू वर्षको माघ महिनामा बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त संस्थाबाहेक) कुल ५४ खर्ब ३९ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। फागुन मसान्तसम्म आइपुग्दा यस्तो कर्जा २३ अर्ब १६ करोड रुपैयाँ कर्जा थप भएर ५४ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
एक महिनामा बैंकहरूको कर्जा ०.४३ प्रतिशतले थप भएको हो। माघ महिनायता बैंकहरूको कर्जा व्यवसाय बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
क्षेत्रगत रुपमा १५ वटा क्षेत्र वर्गीकरण गरिएकोमा चार वटा क्षेत्रको कर्जा मात्रै न्यूनदरमा घटेको छ।
‘माघ महिनायता बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ। पहिले जस्तो कर्जाको माग नहुने स्थिति अब छैन, उद्योगीहरूले थप कर्जा लिन थालेका छन्, एनसी खोल्ने क्रम बढेको छ,’ संघका अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘बढेको कर्जा पहिला जस्तो ऋण तिर्नका लागि गएको भने चालु पुँजी कर्जाले रोकेको छ, गएका कर्जा अधिकांश उत्पादनशील क्षेत्रमा छन्।’
चालु वर्षको तेस्रो त्रैमासको अन्त्यमा पनि बैंकहरूमा कर्जाको माग आइरहेको छ। तर, बैंकहरूले नयाँ कर्जा प्रवाहभन्दा रिकोभरीलाई बढी समय दिनुपर्ने भएको हुँदा चैतको डिमाण्ड वैशाखसम्म होल्ड गरिएको उनले जानकारी दिए।
राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांक हेर्दा पनि संघका अध्यक्ष कोइरालाको भनाइ पुष्टि हुन्छ। क्षेत्रगत रुपमा १५ वटा क्षेत्र वर्गीकरण गरिएकोमा चार वटा क्षेत्रको कर्जा मात्रै न्यूनदरमा घटेको छ। बाँकी ११ वटा क्षेत्रको कर्जा एक महिनाको बीचमा एक प्रतिशतमाथिको वृद्धि भएको छ।
प्रोडक्टअनुसार १२ वटा प्रोडक्टमा ६ वटाको वृद्धि भएको छ। धितोमा आधारित २१ प्रकृतिका कर्जामा पनि १४ वटामा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
अहिले बैंकमा मत्स्य पालन, खानीसम्बन्धी, निर्माण, विद्युत ग्यास तथा पानी, धातु जन्य उत्पादन, मेसिनरी तथा विद्युतीय सामाग्री, यातायात तथा सञ्चार, पर्यटन र उपभोगका क्षेत्रमा जाने कर्जा वृद्धि भएको छ।
साथै, डिमाण्ड र चालु पुँजी कर्जा, आवासीय व्यक्तिगत कर्जा, रियल स्टेट कर्जा, मार्जिन प्रकृतिको कर्जा र सवारी साधान कर्जाको माग उच्च छ।
धितोमा आधारित कर्जामा पनि सुन धितो कर्जा, सरकारी ऋण पत्र, गैरसरकारी ऋणपत्र, मुद्दती धितो कर्जा, सम्पत्ति धितो कर्जा, अन्तर्राष्ट्रिय श्रेणी प्राप्त बैंकको जमान धितो कर्जा र क्रेडिट कार्डमार्फतको कर्जा न्यूनतम १ प्रतिशतदेखि ३४ प्रतिशतसम्मले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।