दाङ। लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्। १२ वटै जिल्लामा चैतमा ४०२ वटा सवारी दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटेको छ। फागुनमा ३९ जनाको मृत्यु भएको थियो।
दुर्घटनाबाट रुपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको संख्या शून्य छ।
बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए। दुर्घटनामा सात सय ४५ जना घाइते भएका छन्।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन्। ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए।
उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन्।
सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए। उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ।–रासस