काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका ३ हाटबजारमा आज बिहान भएको आगलागी पीडितलाई तत्काल १० लाख सहयोग गर्ने भएको छ।
धनगढीमा आज बसेको प्रदेश सरकार, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायता स्वरुप १० लाख सहयोग गर्ने निर्णय गरेको हो।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले साँफेबगर नगरपालिका, हाटबजारका प्रेम खड्काको ममः सेन्टरमा आज बिहान ३ः४५ बजे विद्युतको तार ‘सट’ भई आगलागी भएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको जानकारी दिए।
आगलागीबाट प्रेम खड्कासहित गङ्ग कुँवर, मकर कुँवर, टीका कुँवर, ज्ञानेन्द्र कुँवर, दीपक सुनार, भीम कुँवर, सुमन कुँवर, किशोर भाट र सुरेश कुँवरको पसल जेलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए।
उनका अनुसार १० वटा पसलमा लागेको खागोका कारण तीन करोड ८६ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।