काठमाडौं। ९ महिनाको कमाइबाट वाणिज्य बैंकले कर्मचारीलाई करिब पौने ७ अर्ब रुपैयाँ बोनस दिने भएका छन्। चालू वर्षको तेस्रो त्रैमाससम्म आर्जित नाफाबाट वाणिज्य बैंकले कर्मचारीलाई ६ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बोनसमा छुट्याएका हुन्।
उक्त अवधिमा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी बोनस नबिल बैंकले ७ अर्ब ९२ करोड रुपैयाँ छुट्याउँदा सबैभन्दा कम एनआइसी एशिया बैंकले २ करोड रुपैयाँ छुट्याएको छ। बोनस ऐन २०३० अनुसार रोजगारादाता प्रतिष्ठानले आयकर तिर्नुअघिको कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई छुट्याउनुपर्छ।
उक्त नाफा चैत मसान्तसम्म बैंकहरुले कमाएको नाफाबाट छुट्याएका हुन्। कर्मचारीलाई बैंकहरुले बोनस वितरण भने चौथो त्रैमासबाट आर्जित नाफाबाट समेत एकमुष्ट गरेर वार्षिक साधारण सभाबाट पारित भएपछि गर्छन्। चालु वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकले कुल ६० अर्ब ४० करोड रुपैयाँ नाफा कमाएका थिए। जसबाट १० प्रतिशत बोनस कर्मचारीलाई छुट्याएका हुन्।
कानुनी प्रावधानअनुसार कर्मचारीका लागि बैंकले छुट्याएको बोनस अन्तिम लेखा परीक्षणपछि वार्षिक साधारणसभा सम्पन्न भएपश्चात वितरण प्रचलन छ। तर, केही बैंकले आर्थिक वर्ष समाप्तपछि प्राप्त नाफाका आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकले दसैंमा बोनस वितरण गर्छन्।
गत वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकमा कुल ४९ हजार २९ जना कर्मचारी कार्यरत छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकमा ४ हजार ४ सय २२ जना र सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ४ सय ९६ जना कर्मचारी कार्यरत छन्। बैंकले चालु वर्षको तेस्रो त्रैमासमा कर्मचारीलाई छुट्याएको बोनसलाई प्रति–कर्मचारी औसतमा १ लाख ८४ हजार रुपैयाँ भाग पर्ने देखिन्छ। औसतमा कर्मचारीलाई ६ हजारदेखि ७ लाख ९ हजार रुपैयाँसम्म बोनस दिनसक्ने देखिन्छ।
एकमुष्टमा सबैभन्दा बढी नबिल बैंकले कर्मचारीालाई बोनस दिने देखिए पनि प्रतिकर्मचारी औसत बोनसमा भने सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले र सबैभन्दा कम एनआइसी एशियाले छुट्याएका हुन्।
उक्त अवधिमा आर्जित नाफाबाट प्रतिकर्मचारीलाई औसतमा बढी बोनस छुट्याउने सूचीको दोस्रो नम्बरमा एभरेष्टले ४ लाख २९ हजार, तेस्रोमा नबिलले ३ लाख १९ हजार र चौथोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख २५ हजार रुपैयाँ प्रतिशत कर्मचारी औसत बोनस छुट्याएका हुन्। उक्त अवधिमा प्रतिकर्मचारी बोनस ९ वटा बैंकको १ लाख रुपैयाँमाथि २ लाख रुपैयाँसम्म र ७ वटा बैंकको एक लाख रुपैयाँभन्दा कम छ।
यद्यपि, बैंकहरूले आर्जित नाफाबाट कर्मचारीलाई दिने बोनस औषतमा लाखौं रुपैयाँ देखिए पनि यस्तो रकम कर्मचारीको पद र कार्यअवधिको आधारमा फरक पर्छ। साथै, कर्मचारीका लागि बैंकले अपरिस्कृति वित्तीय विवरणका आधारमा छुट्याएका अनुमानित बोनश परिमाण अन्तिम लेखा परीक्षणपछि केही मात्रा तलमाथि पर्न सक्छ। कर्मचारी संख्या नै थोरै हुँदा बैंकले वितरण गर्ने बोनश पनि प्रतिकर्मचारी औषतमा बढी देखिएको हो।
कर्मचारीमा तलबभत्ता र बोनसमै आधा अर्ब खर्च
आकर्षक तलबभत्ता र बोनसकै कारण निजामति सेवापछि बैंकिङ क्षेत्रको रोजगारीमा आकर्षण बढ्दो छ। चालु वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकले कर्मचारीलाई बोनससहित तलबभत्तामा ५५ अर्ब १९ करोड ९५ लाख रुपैयाँ खर्च गर्न लागेका हुन्। जसमा बोनसको हिस्सा मात्रै १५.४३ प्रतिशत रहेको छ।
बैंकहरूले समीक्षा अवधिमा वाणिज्य बैंकहरुले तलबभत्तामा कुल ४३ अर्ब ४८ करोड ८२ लाख खर्च गरेका छन्। जसमा सबैभन्दा बढी कर्मचारीमा खर्च कुमारी बैंकले ३ अर्ब ५ करोड रुपैयाँ गर्दा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७८ करोड ९७ लाख रुपैयाँ गरेको देखिन्छ।
