ललितपुर। काठमाडौं विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ)बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदान प्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा. दिनेश काफ्लेले जानकारी दिए।
दुई संस्थाबीच सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमतिका साथै एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाइएको उनले बताए।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे।
“विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तरराष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको छ, एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्याउन सक्छ, विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विचारहरूको आदानप्रदान हुने अपेक्षा छ”, उपकुलपति वाग्लेले भने।
कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिंक ट्र्यांक’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे। उनले शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग रूपमा गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्याउनेछ, जसले अन्ततः देशलाई फाइदा पुर्याउने छ”, ढकालले भने। उनले वर्तमान नेपालका सन्दर्भमा सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिंक ट्यांक’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकतासमेत औँल्याए।
काठमाडौं विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको डा. काफ्लेले बताए। उनका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आंगीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन्।
एनपिआइ सन् २०१७ द नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो। यसले विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दाबढी प्रवासी विज्ञहरू आबद्ध छन्। पछिल्लो सम्झौताअघि एनपीआइ र केयु स्कूल अफ म्यानेजमेन्टले सङ्घीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी)लगायत विभिन्न पहलमा सहकार्य गरेका छन्।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा
विश्वविद्यालयका तर्फबाट स्कूल अफ म्यानेजमेन्टका डीन प्रा.डा. विजय केसी र स्कूल अफ इञ्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेललगायत विभिन्न संकाय तथा निर्देशकालयका प्रमुख अधिकारीको उपस्थिति थियो।
एनपिआइका तर्फबाट कार्यकारी बोर्ड सदस्यहरू गोपी मैनाली, सरु जोशी श्रेष्ठ र सम्झना श्रेष्ठ तथा विज्ञहरू डा. विकल श्रेष्ठ, डा. प्रह्लाद कार्की, अधिवक्ता भूपाल ढकाल र सुधीर श्रेष्ठ सहभागी थिए।