काठमाडौं। भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले दुई वर्ष कैदसँगै १३ करोड ५८ लाखभन्दा बढी जरिवानाको फैसला सुनाएको छ।
न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई जरिवानासँगै कैद सजाय सुनाएको हो। उनीमाथि भ्रष्टाचार कसुरमा एक वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा थप ६ महिना कैदको सजाय तोकिएको हो।
प्रिन्टिङ मेसिन खरिदमा ७६ करोड रुपैयाँ विनियोजन हुँदा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ नोक्सानी भएको ठहर अदालतले गरेको छ।
यस्तै, अदालतले म्याक्स इन्टरनेसनल प्रा.लि.का सिईओ अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख जरिवानासँगै एक वर्ष ६ महिना कैदको फैसला गरेको छ।
प्रतिवादीहरू सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापा कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले बदनियतपूर्ण संलग्नता नरहेको भन्दै सफाइ दिएको छ।
पौडेल भ्रष्टाचार कसुरमा जेलमा छन्। सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार आरोपमा विशेषले २०८१ जेठ ८ गते २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवानासँगै दुई वर्ष कैद सजायको फैसला गरेको थियो। यो फैसला उनीविरुद्धको दोस्रो मुद्दाको हो।