काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलविद्युत आयोजनाको पहिलो लटको काम सुरु गर्न बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ।
छनोट हुने निर्माण व्यवसायीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउन दुईओटा सुरुङ अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नुपर्ने छ । निर्माण कम्पनीहरुले अप्रिल १३ अर्थात बैशाख १ गते बोलपत्र पेश गर्नुपर्ने भएको छ ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुने छ । आयोजनाको जडित क्षमता १४० मेगावाट छ ।
ठेकेदार कम्पनीहरुको योग्यता नपुगेपछि त्यसलाई खारेज गरी तनहुँ हाइड्रोपावरले आयोजनाको पहिलो लटका लागि पुनः ग्लोबल टेण्डर आब्हान गरेको हो ।
आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी कोपरेटिभ मुरातोरी एन्ड सिमेन्टिटी (सीएमसी) छनोट भएको थियो । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम पावरहाउस, वाटरवे र अन्य निर्माण सामग्रीको काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाखमा ठेक्का पाएको थियो ।
सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएकोमा पुन बोलपत्र गर्नुपर्दा ढिलाइ हुने संभावना बढेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो रकममा प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत छ ।
एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख, सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी व्योहर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।