काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दसाैं संस्करण भृकृटीमण्डपमा सुरु भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट सुरु मेला वैशाख २९ सम्म चल्नेछ।
मेला उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारको लागि काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयास गरिरहेको बताए।
‘हामीले रुग्ण उद्योगको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावना पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं। यो मेलाले यस्ता अवसर खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने विश्वास छ’, मन्त्री भण्डारीले भने।
उनले हालै संसदमा पेस भएको नीति तथा कार्यक्रममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको जनाए।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताए।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा थियो। ‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ‘, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।
नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए।
नेपाल, चीन र बंगदादेशका गरी १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग भेटघाट र द्विपक्षीय व्यापार र लगानीका अवसरबारे छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समिति सभापति उमेश डालमियाले जानकारी दिए।
महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ। अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नुपर्ने उनले बताए।
मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पार्टनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेसन, चाइना एक्जिबिसन एण्ड फोरम कम्पनी, गार्मेन्ट एसाेसिएसन नेपाल एक्जिबिसन लाइट हाउस, इन्ट्रोडक्सन ट्रेड सोज नेपाल रहेका छन् भने मेलामा निःशुल्क प्रवेश व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए।
मेलामा नेपालस्थित थाइल्यान्ड र इजरायल, युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका दूतावासका आर्थिक मामिला प्रमुखको समेत सहभागिता थियो।