काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सडक निर्माणमा भइरहेको खर्च र गुणस्तरमा चिन्ता व्यक्त गरेक छन्। नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री भण्डारीले सिमेन्ट र डन्डीको प्रयोग गरी गुणस्तरीय सडक सञ्जाल बनाउनुपर्नेमा जोड दिएका हुन्।
हाम्रो सबैभन्दा बढी खर्च सडक पूर्वाधारमा भइरहेको छ। तर, हामी बनाउँदै जान्छौं र त्यो भत्किँदै जान्छ,ू मन्त्री भण्डारीले भने, ‘सिमेन्ट र डन्डीको प्रयोग गरेर १०/१५ वर्षसम्म टिक्ने गुणस्तरीय सडक बनाउन सक्छौं। सुरक्षित सडक सञ्जाल निर्माण गर्नु आवश्यक छ।’
नेपाल सिमेन्टमा आत्मनिर्भर रहेको उनकाे दाबी छ। पछिल्लो समय पालिकास्तरमा पक्की सडक पुर्याउनुपर्नेमा उनले जाेड दिए।
नेपालको क्रसर उद्योगको अवस्थाबारे बोल्दै मन्त्री भण्डारीले भने, ’नेपालमा ७/८ वटा क्रसर उद्योग छन्। तर दर्ता भएको एउटा मात्र छ। मापदण्ड कडा बनाइएको छ, जसले गर्दा राज्यले राजस्व गुमाइरहेको छ।’
नेपालमा तीन प्रकारका क्रसरहरू रहेको तर्क राख्दै उनले उद्योग, आयोजना र अवैध रूपमा सञ्चालन भइरहेको बताए।
उनले थपे, ’हाम्रो पाँच खर्ब बराबरको ढुङ्गा, गिट्टी, बालुवा खेर गइरहेको छ। सिमेन्ट बनाउन केही कोइला ल्याउनुपर्ला। तर ढुङ्गागिट्टी हामीसँग प्रशस्त छ।’
मन्त्री भण्डारीले सडक निर्माणको गुणस्तर सुधार र क्रसर उद्योगलाई व्यवस्थित गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।