काठमाडौं। नेपाल धितोपत्र बोर्डले करिब दर्जन कम्पनीलाई कारवाही गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ उल्लंघन गर्ने ११ वटा सूचक कम्पनीलाई कारबाही गरेको हो।
ती कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनअनुसार समयमै रिपोर्टिङ नगर्दा कारबाही गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।
‘सम्पत्ति शुद्धीकरण कानुनबमोजिम बोर्डमा विवरण पेस नगर्ने ११ वटा कम्पनीमाथि कारबाही गरिएको छ,’ बोर्डका प्रवक्ता घिमिरेले क्यापिटल नेपालसँग भने, ‘यी कम्पनी बोर्ड कारबाहीमा पहिलो पटक परेकाले सचेत मात्रै गराएका छौं।’
बोर्डको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनअनाुसार ब्लुचिप सेक्युरिटिज, प्रोपर्टी विजार्ड, स्टक स्कार्टस् सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोड्सो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेष्मेन्ट कम्पनी, एलिस मर्चेन्ट, रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट कम्पनी, एलिस मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल कारबाहीमा परेका हुन्।
कारबाहीमा परेका कम्पनीले बोर्डलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको व्यवस्थाअनुसार पुनः दोस्रो पटक समयमै विवरण पेस नगरे नगद जरिवाना हुने बोर्ड प्रवक्ताको भनाइ छ।
यसअघि बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको उल्लंघन गर्ने सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाललाई १० लाख र मार्केट सेक्युरिटिज एक्सचेन्जलाई १० लाख रुपैयाँ आर्थिक जरिवाना गराएको थियो।
