काठमाडौं। नेपाली बजारमा पछिल्लो केही दशकयता एउटै गुनासो सुनिँदै आएको छ- युवायुवतीलाई स्वदेशमा रोजगारीको अवसर छैन र उद्योगी-व्यवसायीलाई आवश्यक पर्ने दक्ष जनशक्ति पाइँदैन। 'जागिर' र 'व्यवसाय' लगभग समस्याका पर्यायजस्तै बनेका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालबाट ७ लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेश प्रस्थान गर्छन्। नेपालको श्रम बजारमा प्रतिवर्ष चार लाखभन्दा बढी नयाँ युवा प्रवेश गर्छन्। तर, रोजगारी वृद्धिदर निकै न्यून छ। यसको अर्थ हो- हरेक वर्ष लाखौँ युवा सीप भए पनि वा नभए पनि, स्वदेशमा अवसर नपाएर विदेशिन बाध्य हुन्छन्।
अर्कोतर्फ, उद्योगीहरूले भने आवश्यक दक्ष जनशक्ति नपाएर उत्पादन क्षमता पूर्ण उपयोग गर्न नसकेको गुनासो गर्छन्। यही 'माग र आपूर्तिबीचको असमानता' नेपालको दीर्घकालीन आर्थिक समस्याको एक प्रमुख जड हो- न त उद्योगले फस्टाउन पाउँछ, न युवाले स्वदेशमा भविष्य देख्छन्।
जनशक्ति आवश्यक पर्ने उद्योगीहरूले वेबसाइटमा उपलब्ध प्रोफाइलहरू अध्ययन गरी आफूलाई चाहिने जनशक्ति छनोट गर्न सक्छन्।
यही विद्यमान समस्यालाई परिपूर्ति गर्न भन्दै रुपन्देही उद्योग वाणिज्य संघले निकै अर्थपूर्ण, आशातीत र उत्कृष्ट कामको शुभारम्भ गरेको छ। जुन प्रविधिको माध्यमबाट पुलको काम गरिरहेको छ। उद्योग संघको नेतृत्वमा सुरु भएको यो कार्यक्रमले अहिले उत्साहजनक नतिजा ल्याउन थालेको छ।
कसरी काम गर्छ यो प्रणाली?
संघले उद्योगी र रोजगारी खोज्ने दक्ष तथा अर्धदक्ष श्रमिकलाई जोड्नका लागि आफ्नै डिजिटल प्लेटफर्ममार्फत स्किल डेभलपमेन्ट र जब भ्याकेन्सी टुल सञ्चालनमा ल्याएको छ। जनशक्ति आवश्यक पर्ने उद्योगीहरूले वेबसाइटमा उपलब्ध प्रोफाइलहरू अध्ययन गरी आफूलाई चाहिने जनशक्ति छनोट गर्न सक्छन्।
कुनै पनि सीप सिकेका वा विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिले आफ्नो बायोडाटासहित निःशुल्क दर्ता गराउन पाउने व्यवस्था रहेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले क्यापिटल नेपाललाई बताए।
रोजगारदातालाई तुरुन्त जनशक्ति आवश्यक भएमा वा विज्ञापन राख्नु परेमा संघको प्रशासनसँग सिधै समन्वय गरी माग दर्ता गराउन सकिने उनले जानकारी दिए। दुवै पक्षको विवरण प्रणालीमा आएपछि संघले रोजगारदाता र रोजगार खोज्नेबीच मध्यस्थकर्ताको भूमिका खेल्ने भण्डारीले बताए।
पढ्दै, कमाउँदै, सिक्दै: २४ महिने अप्रेन्टिसशिप कार्यक्रम
संघले सञ्चालन गरेको यो अभियानको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विद्यार्थीहरूलाई लक्षित गरिएको २४ महिने व्यावहारिक अप्रेन्टिसशिप कार्यक्रम हो। यो कार्यक्रमले विद्यार्थीहरूलाई एकातिर शैक्षिक संस्थाबाट सैद्धान्तिक ज्ञान हासिल गर्ने अवसर दिन्छ भने अर्कोतिर बाँकी समयमा उद्योगमा रहेर प्रत्यक्ष काम सिक्ने मौका प्रदान गर्छ।
यो मोडेल नेपालका लागि किन महत्त्वपूर्ण छ भने, हाम्रा शैक्षिक संस्थाहरूले दिने सैद्धान्तिक ज्ञान र बजारले माग गर्ने व्यावहारिक सीपबीच ठूलो खाडल रहेको कुरा लामो समयदेखि औँल्याइँदै आएको छ। डिग्री लिएर पनि काम नपाएका वा काम गर्न नजान्ने युवाको संख्या ठूलो छ। जसले गर्दा उद्योगीले "तालिम दिएरै काम लगाउनुपर्ने" थप बोझ खेप्नुपर्थ्यो।
संघको पछिल्लो विवरणअनुसार सुरुवातदेखि हालसम्म मुख्यतः तीन क्षेत्रमा युवाहरूले बढी रोजगारी पाएका छन्।
अप्रेन्टिसशिप मोडेलले यो खाडललाई दुई तरिकाले पुर्छ- विद्यार्थीले पढाइकै क्रममा कमाउने अवसर पाउँछन्। उद्योगले आफूलाई चाहिने ढाँचामा जनशक्ति "ग्रुम" गर्न पाउँछ। दुई वर्षको सघन व्यावहारिक अभ्यास र अध्ययनपछि उनीहरू बजारको मागअनुरुपको दक्ष जनशक्तिका रूपमा तयार हुन्छन्। कोर्ष पूरा भइसकेपछि पनि संघले नै स्थायी रोजगारी सुनिश्चित गर्न विशेष सहजीकरण गर्दै आएको छ।
बजारको आवश्यकता र उपलब्ध जनशक्तिबीचको खाडल पुर्नु नै संघको मुख्य उद्देश्य रहेको भण्डारीले बताए। सीप सिकेका नागरिक बेरोजगार नबसून् र उद्योगीहरूले दक्ष जनशक्तिको अभावमा उत्पादन क्षमतामा गिरावट भोग्न नपरोस् भन्ने संकल्पका साथ संघ काम गरिरहेको उनको भनाइ छ।
तीन महिनामा ५०-६० जनालाई रोजगारी
उद्योगीलाई आवश्यक जनशक्ति र श्रमशक्तिलाई आवश्यक रोजगारीको प्रबन्ध मिलाउने उद्देश्यसहित गत तीन महिनादेखि सुरु गरिएको यो अभियानमार्फत हालसम्म ५०-६० जनाले रोजगारी पाइसकेका छन्। जो कार्यक्रमको ठूलो उपलब्धिका रूपमा लिइएको छ।
सानो सुरुवात देखिँदा पनि, राष्ट्रिय स्तरमा हेर्दा यसको सम्भाव्यता ठूलो छ- यदि देशभरका ७७ जिल्लाका उद्योग संघले यस्तै मोडेल अनुसरण गरे भने, हजारौं युवालाई स्थानीय स्तरमै रोजगारी जोड्न सकिनेछ, जो अहिले श्रम स्वीकृति लिएर वा अनौपचारिक बाटोबाट विदेश पुगिरहेका छन्।
कुन क्षेत्रमा बढी माग?
संघको पछिल्लो विवरणअनुसार सुरुवातदेखि हालसम्म मुख्यतः तीन क्षेत्रमा युवाहरूले बढी रोजगारी पाएका छन्। मेकानिकल तथा इन्जिनियरिङ क्षेत्रमा उद्योगहरूभित्र प्राविधिक र मेकानिकल पार्टपुर्जा सम्हाल्ने जनशक्तिको माग उच्च रहेको छ।
नेपाली समाजमा स्वदेशमा भविष्य नदेखेर विदेश पलायन बढ्दै गएको अवस्थामा, जहाँ युवाहरू जोखिमपूर्ण काम र जीवनसमेत दाउमा राखेर विदेशिन बाध्य हुने गरेका छन्।
होटल म्यानेजमेन्ट पढेका वा पढ्दै गरेका विद्यार्थीहरूलाई विभिन्न होटेलियरहरूसँग जोडेर रोजगारी दिइएको छ। सूचना प्रविधि क्षेत्रमा पनि कम्प्युटर हार्डवेयर र सफ्टवेयरसम्बन्धी कामको माग बढ्दो छ। युवाहरू यस क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत छन्। यी तीन क्षेत्र- उत्पादनमूलक उद्योग, सेवा (पर्यटन) र सूचना प्रविधि- नेपालको अर्थतन्त्रका तीन भिन्न खम्बा हुन्, र यिनै क्षेत्रमा रोजगारी सिर्जना भएमा यसको लहर अन्य सहायक व्यवसायहरूमा पनि पुग्ने सम्भावना हुन्छ।
मातृभूमिमै भविष्यको आधार
नेपाली समाजमा स्वदेशमा भविष्य नदेखेर विदेश पलायन बढ्दै गएको अवस्थामा, जहाँ युवाहरू जोखिमपूर्ण काम र जीवनसमेत दाउमा राखेर विदेशिन बाध्य हुने गरेका छन्। रुपन्देही उद्योग संघले सुरु गरेको यो अभियानले उद्योगी-व्यवसायीले भोगिरहेको जनशक्ति संकटको समाधान मात्र गरेको छैन, यसले मातृभूमिमै भविष्य देख्ने बलियो आधार पनि निर्माण गरेको छ।
प्रत्येक जिल्लाका उद्योग संघले यस्तै कार्यक्रम सुरु गरी आफ्नो क्षेत्रमा आवश्यक जनशक्ति र बेरोजगार युवाहरूलाई रोजगारीको अवसर जोड्ने हो भने बढ्दो बेरोजगारी समस्या र औद्योगिक मन्दी- दुवैको समाधानमा सार्थक सहयोग पुग्ने छ।