काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन्। आइतबार निर्वाचन समितिले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो।
इप्पानको २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिएको हो। इप्पानको विधानमा भएको व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका छन्।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका थिए। साधारण सभाले सात जना उपाध्यक्षहरू पनि चयन गरेको थियो। जसमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ रहेका छन्।
संस्थाको महासचिवमा टेकनाथ (टी.एन) आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा सविना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल निर्वाचित भएका छन् भने कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको थियो।
अधिकांश पदहरू निर्विरोध भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। निर्वाचनमा शंकर बस्याल २६७ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।