काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएकामध्ये १४ कम्पनीको आवेदन रद्द गरेको छ। सेबोनले नेटवर्थ कम र विद्युत् उत्पादन सम्झौता अवधि समाप्त हुन लागेका कम्पनीको आवेदन बोर्डले रद्द गरेको हो।
बोर्डले आईपीओ अनुमति माग्दै पाइपलाइनमा रहेकामध्ये ६ वटा जलविद्युत् कम्पनी, ४ पर्यटन क्षेत्र, १ सञ्चार प्रतिष्ठान, २ औषधी उद्योग र १ हेलिकोप्टर कम्पनीको आवेदन रद्द गरी पुनः निवेदन दिन निर्देशन दिएको छ। ती कम्पनीलाई पुनः मूल्यांकन (रि-भ्यालुलेसन नगरी वास्तविक नेटवर्थ (रियल नेथवर्क) ९० रुपैयाँभन्दा कम भएका कारण अधिकांश कम्पनीको प्रस्ताव अस्वीकृत गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।
आईपीओ पाइपलाइनबाट हटाइएका कम्पनीमध्ये १३ कम्पनीले न्यूनतम आवश्यक नेटवर्थ नपुगेको देखिएको छ। बोर्डले यस्ता कम्पनीलाई आवश्यक वित्तीय मापदण्ड पूरा गरी पुनः निवेदन दिन भनेको छ।
त्यस्तै, सानिमा हाइड्रोपावरको हकमा विद्युत् उत्पादन अनुमतिका लागि बाँकी अवधि केवल १२ वर्ष मात्र रहेको र विद्युत् खरिद सम्झौता (पीपीए) पनि आगामी ५ वर्षभित्र समाप्त हुने भएकाले बोर्डले प्रस्ताव अस्वीकार गरेको हो।
आईपीओ आवेदन रद्द गरिएका कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, रिचेत जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइड्रो कम्पनी, पुवा खोला–वान हाइड्रोपावर, एकर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क, प्रभु हेलिकोप्टर र सानिमा हाइड्रोपावर लिमिटेड रहेका छन्।
