काठमाडौं। नेपाल राष्ट्र बैंकले नेतृत्व पाएको दिन पनि नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ। राष्ट्र बैंकको नेतृत्व गत चैत्र २४ गतेदेखि रिक्त हुँदै आएको थियो।
सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा लामो रस्साकस्सी भएसँगै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर बनाएको थियो।
बुधबार बिहान नवनियुक्त गभर्नर प्रा.डा. पौडेलले शपथ ग्रहण गरेका थिए। योसँगै सेयर बजारमा उछाल आउँदा बिहान ११ बजे २७७१ विन्दुमा पुगेको थियो।
त्यसपछि लगातारको गिरावट हुँदै बुधबार सेयर बजार ८ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६७० विन्दुमा पुगेर बन्द भएको छ। योसँगै आज सेयर बजारमा १०१ अंकको उतारचढाव आएको हो।
नेप्सेमा बुधबार भएको कारोबारमध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १५३ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको मूल्य स्थिर भएको छ।
कारोबारका आधारमा एउटा कम्पनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै, आज बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले गिरावट आएको हो।
आज १० अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा धेरै हो।