काठमाडौं। नेपाल बिमा प्राधिकरणले ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका, २०७३’ संशोेधनको प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी)का लागि छुट्टै बिमा दर नीति कार्यान्वयनमा ल्याउने गरी संशोधनको प्रक्रिया अघि बढाएको हो।
हालसम्म बिमा कम्पनीहरुले मूल्यको आधारमा बिमा शुल्क निर्धारण गरी बिमितसँग असुल्ने गरेका छन्। जसमा गाडीको आयुअनुसार हरेक वर्ष तिर्नुपर्ने बिमा शुल्क निर्धारण हुन्छ। कम्पनीहरुले तत्कालीन बिमा समितिद्वारा जारी ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका, २०७३’को व्यवस्थामा रहेर पेट्रोलियम र विद्युतीय सवारीको मोटर बिमा गरिरहेका हुन्। उक्त निर्देशिकाले पेट्रोलियम र विद्युतीय सवारीको मोटर बिमाबारे छुट्टै केही जनाएको छैन।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्न थालेको करिब पाँच वर्ष मात्रै भएको छ। त्यसअघि केही मात्रामा विद्युतीय सवारी प्रयोगमा आएका थिए। विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा यसको खर्च पेट्रोलियम गाडीको भन्दा फरक भएर आउन थालेसँगै कम्पनीले छुट्टै नीतिको माग गर्न थालेका हुन्।
उनीहरुको मागलाई सम्बोधन गर्ने गरी मोटर बिमा निर्देशिका संशोेधन गर्न लागिएको बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणले ईभीको लागि छुट्टै मोटर बिमा निर्देशिका जारी गर्नेदेखि पुरानै निर्देशिकालाई संशोधन गर्ने वा परिपत्र जारी गरेर ईभीको विषयमा छुट्टै व्यवस्था गर्ने भन्ने विषयमा अध्ययन गर्न निर्देशक निर्मल अधिकारीको संयोजकत्वमा कमिटी गठन गरेको छ।
प्राधिकरणले पेट्रोलियम गाडीभन्दा फरक गर्ने गरी आन्तरिक गृहकार्य सुरु भइसकेको कमिटीका संयोजक तथा प्राधिकरणका निर्देशक अधिकारीले बताए।
‘यस विषयमा बिमा कम्पनी र अटो मोबाइल एसोसिएसनसँग पनि छलफल तथा समन्वय गरिरहेका छौँ। यसलाई मोटर बिमा निर्देशिकामा राख्न पनि सकिन्छ या ईभीको पार्टलाई छुट्टैमा पनि राख्न सकिन्छ। अध्ययनकै क्रममा छ,’ प्राधिकरणका निर्देशक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘ईभीको निर्देशिका छुट्टै हुन पनि सक्छ वा मोटर बिमा निर्देशिकाभित्रै ईभीको विषय कुनै परिच्छेदमा राख्न पनि सकिन्छ। आवश्यक तथ्यांक आइसकेपछि प्रिमियम र क्लेमको विषयमा टुंगो लाग्छ।’
प्राधिकरणले ईभीको विषयमा आएका समस्या सम्बोधन गर्ने गरी नयाँ नीति निर्माण गर्न लागेको उनको भनाइ छ। प्राधिकरणले विद्युतीय सवारीमा प्रयोग हुने प्रविधि, ब्याट्रीको जोखिम, मर्मत खर्च र बजार मूल्यलाई आधार मानेर प्रिमियम बढाउने तयारी गरेको हो।
हालको मोटर बिमा पेट्रोल र डिजेल सवारीका लागि बनाइएकाले ईभीका लागि त्यो अनुपयुक्त हुँदै गएको देखिएको छ। तुलनात्मक रुपमा आइसिई इञ्जिन गाडीभन्दा ईभी गाडीमा प्रयोग हुने पार्टपुर्जा, ब्याट्रीलगायतका सामानहरु महंगो हुने गर्छ। ईभीको स्पेयर पाट्र्स, सर्भिसमा लाग्ने खर्च र बिक्री मूल्यलाई आधार मानेर प्राधिकरणले ईभीको लागि प्रिमियम बढाउने तयारी गरेको हो।
पछिल्लो समय ईभीको आयात बढ्दै गएको छ। संसारभर ईभी नयाँ प्रविधि भएकाले यसमा प्रयोग भएका ब्याट्री, पार्टपुर्जाहरु महंगो हुने गरेको छ। विद्युतीय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा प्राधिकरणले ईभीका लागि आवश्यक नीति निर्माण गर्न लागेको हो।
ईभी र आईसी इञ्जिन गाडीका लागि बिमा शुल्क दर फरक गर्ने विषयमा अहिले डेटा कलेक्सनको काम भइरहेको प्रवक्ता अधिकारीले बताए। ‘ईभी र आईसी इञ्जिन गाडीका लागि बिमा शुल्क दर फरक गर्ने विषयमा अहिले डेटा कलेक्सनको काम भइरहेको छ। अहिले फाइनल भएको छैन,’ उनले भने, ‘हामीले यस विषयमा पटक–पटक निर्जीवन बिमक संघसँग पनि छलफल गरेका छौँ। अहिले डेटाहरु कलेक्सन गरिरहेका छौँ। मुख्य कुरा भनेको समस्या समाधान हुनु पर्याे।’ -निर्देशकअधिकारीले भने।
यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधिहरुले यस विषयमा नेपाल बिमा प्राधिकरणका टिमसँग छलफल गरेको थियो। छलफलका क्रममा नाडाले ईभीका लागि छुट्टै बिमा नीति निर्माण गर्नुपर्ने जनाएको थियो। सोहीअनुरूप अब बिमा प्राधिकरणले ईभीको जोखिम मल्यांकन गरेर प्रिमियम निर्धारण गर्नेतर्फ उन्मुख भएको हो।
नाडाले विद्युतीय सवारी साधनका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकाले न्यूनतम रूपमा दक्षिण एसियाली राष्ट्रमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी त्यहीअनुसार नीति बनाउन प्राधिकरणलाई सहयोग गर्ने जनाएको थियो।
विद्युतीय सवारीको मर्मत खर्च उच्च हुने र ब्याट्रीसम्बन्धी जोखिम बढी हुने भएकाले बिमा प्रिमियममा केही वृद्धि हुन सक्ने बिमा प्राधिकरणले जनाएको छ। ईभीका लागि नयाँ नीति निर्माण भएपछि विद्युतीय सवारी धनीहरूले वर्तमानभन्दा केही बढी प्रिमियम तिर्नुपर्ने हुन्छ।
प्राधिकरणले ईभीका लागि बिमा पोलिसी निर्माणको अध्ययन गर्दै गर्दा नाडासँग पनि छलफल गरेकाले पोलिसी सकभर सर्वसुलभ र पारर्दर्शी बनाउने लक्ष्य लिएको जनाएको छ।
ईभीका लागि छुट्टै बिमा नीति किन आवश्यक छ?
ईभी र आईसी इञ्जिन सवारी फरक प्रविधिका हुन्। ईभीमा ब्याट्री, मोटर, चार्जिङ सिस्टमलगगायतका विशेष प्रविधिहरु प्रयोग गरिन्छ। यी कम्पोनेन्टहरू महंगा हुन्छन। ईभीको मुख्य र महंगो हिस्सा भनेकै यसको ब्याट्री हो।
ब्याट्री बिग्रनु वा आगलागीको जोखिम सामान्य गाडीभन्दा फरक हुन्छ। जसले बिमा कम्पनीलाई अलग किसिमको जोखिम मूल्यांकन गर्न बाध्य पार्दछ।
ईभीको सामान्य मर्मत खर्च कम लाग्छ। तर, केही समस्या आए खर्च एकदमै महंगो पर्न जान्छ। यस्तो फरक जोखिम मूल्यांकन गर्नका लागि छुट्टै नीतिको आवश्यक महसुस भएको हो।