काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमानअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने देखिएको छ।
कार्यालयका अनुसार गण्डकीको ५.५१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदा सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ।
यस्तै, राष्ट्रिय औसत ४.६१ प्रतिशत वृद्धिदरसँग तुलना गर्दा गण्डकीसँगै बागमती ५.१८ प्रतिशत, कर्णाली ४.७४ प्रतिशत र लुम्बिनी ४.७० प्रतिशत प्रदेशको वृद्धिदर औसतभन्दा माथि रहेको छ। कोसी ३.३४ प्रतिशत, मधेस ४.५० प्रतिशत र सुदूरपश्चिम ३.३२ प्रतिशत प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहेको कार्यालयको विवरणमा उल्लेख छ।

उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चालू आर्थिक वर्षमा ६१ खर्ब ७ अर्ब रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । कुल उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६ दशमलव ५२ प्रतिशत रहनेछ।
त्यसपछि कोसीको योगदान १५ दशमलव ९० प्रतिशत, लुम्बिनीको १४ दशमलव २३ प्रतिशत, मधेसको १३ दशमलव १६ प्रतिशत, गण्डकी प्रदेशको ८ दशमलव ९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७ दशमलव शून्य ३ प्रतिशत र कर्णाली प्रदेशको मात्र ४ दशमलव १९ प्रतिशत रहनेछ।
गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानसँग तुलना गर्दा बागमती र मधेस प्रदेशको योगदानमा केही वृद्धि देखिएको छ भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदानमा सामान्य गिरावट आएको छ। चालू आर्थिक वर्षमा राष्ट्रिय औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ।
प्रदेशगत विश्लेषणअनुसार बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर र गण्डकीको १ हजार ६१९ अमेरिकी डलर राष्ट्रिय औसतभन्दा माथि रहेको छ। अन्य प्रदेशमध्ये कोसीको १ हजार ४०१ अमेरिकी डलर, लुम्बिनी १ हजार २०१ अमेरिकी डलर, सुदूरपश्चिमको १ हजार १५३ अमेरिकी डलर, कर्णाली प्रदेशको १ हजार ८९ अमेरिकी डलर र मधेस प्रदेशको ९३२ अमेरिकी डलरको प्रतिव्यक्ति आय औसतभन्दा कम रहेको छ।
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको विश्लेषण गर्दा अधिकांश प्रदेशमा आर्थिक वृद्धिदर वृद्धि हुँदै गएको देखिए पनि कोसी र सुदूरपश्चिम प्रदेशमा वृद्धिदर स्थिर छ।