हजुरबुबा सोहनलाल गोल्याणको पसिनाले जन्मिएको उद्योग, बुबा पवन गोल्याणको विश्वासले बढेको संस्था अब छोराको सपनामा रुपान्तरण हुँदै छ। अक्षयको यात्रा व्यापारको होइन, विश्वास र उत्तरदायित्वको कथा हो– जहाँ एउटा परिवारको इतिहास र देशको भविष्य एकै धागोले उनिएको छ।
नेपालका युवाले जब आफ्नै देशमा उद्योग र नवप्रवर्तनका अवसर खोज्न थाल्नेछन्, अक्षयको कथा तिनका लागि प्रेरणा–स्रोत हुनेछ। किनभने, यो केवल व्यवसायको मात्र होइन, देशभक्तिको पनि कथा हो–जहाँ विदेशको पढाइसहितको अनुभव लिएर मातृभूमि फर्किएको छ, केही नयाँ सिर्जना गर्न।
सायद त्यही कारण हो, उनी हरेक बिहान कार्यालय पुग्दा कर्मचारीलाई हेरेर मुस्कुराउँछन्–किनकि उनी जान्दछन्, हजुरबुबाको पसिना, बुबाको आशीर्वाद र आफ्नै दृष्टिले मिलेर गोल्याण ग्रुपले अर्को आधा शताब्दीको कथा लेख्दै छ।
कहिलेकाहीँ जीवनका बाटाहरू तयार हुँदैनन्, तिनलाई आफैं खोजिनुपर्छ। अक्षय पनि त्यही मार्गका यात्री हुन्। उनका बाल्यदिन काठमाडौंको व्यावसायिक परिवारभित्र बिते–जहाँ उद्योगको आवाज, बुबाको बैठकका नोटप्याड र हजुरबुबाको अनुशासन सबै उनलाई सानैदेखि व्यावसायिक संस्कार सिकाउने माध्यम बने।

काठमाडौंको सहरी कोलाहलभित्र मन्द मुस्कानसहित शान्त स्वभावमा बसेका छन्, एक युवा। ती युवाको काँधमा छ, ६ दशक इतिहास बोकेको व्यावसायिक प्रतिष्ठानको जिम्मेवारी र नयाँ पुस्ताको दृष्टि। उनी हुन्, अक्षय गोल्याण। अक्षय गोल्याण ग्रुपका प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।
२०४५ मा जन्मिएका अक्षय बाल्यकालमै संयमित स्वभाव र गहिरो अवलोकन शक्ति भएका बालकका रूपमा परिचित थिए। उनी पढाइमा मात्र होइन, बुझाइमा पनि फरक थिए।
बाल्यकालमा जहाजको पाइलट बन्ने सपना देख्ने ती युवक आज देशकै ठूला उद्योग समूहका ‘पाइलट’ बनेका छन्–जहाज होइन, अहिले उनले उडाइरहेका छन्, हजारौं श्रमिक, सयौं उद्योग र नयाँ सम्भावनाका सपना। यही यात्राको केन्द्रमा छन् अक्षय–जो उत्तरदायित्व र आत्मखोज दुवैका उडानमा निस्किएका छन्।
बाल्यकालको सपनाः पाइलट बन्ने
अक्षय बाल्यकालदेखि जिज्ञासु र संवेदनशील थिए। उनका साथी, इस्टमित्र डाक्टर वा इन्जिनियर बन्ने कुरा गर्थे, तर अक्षय सोच्थे, ‘म भविष्यमा पाइलट बन्छु, अकासमा जहाज उडाउँछु।’
उनको बाल्यकालको पहिलो सपना थियो–पाइलट बन्ने। तर, जीवनका घुम्तीहरू त्यति सहज र सरल हुँदैनन्, चाहेको कुरा अर्कै भइदिन्छ। जतिजति अक्षय ठूला हुँदै गए, पाइलट बन्ने कल्पना धूमिलिँदै गयो। ‘मलाई लाग्थ्यो, पाइलट बन्नेबित्तिकै जीवन पूरा स्वतन्त्र हुन्छ,’ उनी सम्झिन्छन्, ‘तर त्यो स्वतन्त्रता पनि जिम्मेवारीले नै बाँधिएको रहेछ।’

अमेरिका पढ्दै गर्दा अक्षयले केही समय पाइलट ट्रेनिङमा पनि हात हाले। दुई महिनापछि भने उनले त्यो बाटो त्यागे। ‘त्यसमा मन रमेन,’ उनी भन्छन्, ‘यो मेरो बाटो होइन भन्ने लाग्यो।’
...
लिंकन स्कुलबाट ‘प्लस टू’ सकिएपछि उनी अमेरिकातर्फ लागे–आफ्नै सपना र आकांक्षाको खोजीमा। अमेरिका पुगेका अक्षयलाई त्यहाँको प्रतिस्पर्धा, स्वतन्त्रता र अवसरले मोहित तुल्यायो। तर, त्यसले मनभित्र कतै रिक्तता पनि जन्मायो–‘के मेरो पहिचान विदेशको डिग्रीले बन्ने हो?’
दुई वर्षपछि उनले बाटो बदले। अमेरिकाबाट संयुक्त अरब इमिरेट्सस्थित दुबईको विश्वविद्यालयमा ट्रान्सफर भए। सन् २०११ मा अन्डरग्राजुयट अध्ययन सक्दा उनी ‘उत्कृष्ट पाँच विद्यार्थी’मध्ये एकमा पर्न सफल भए। त्यो क्षण उनले महसुस गरे–सफलता अंकले होइन, दृष्टिले मापन हुन्छ।
नेपाल फर्किंदा अक्षयले पहिलो पटक गोल्याण ग्रुपको एउटा परियोजनामा औपचारिक रूपमा हात हाले। बालकुमारीमा भइरहेको रियलस्टेट परियोजनाले उनलाई ‘नेपालमा सम्भावना छ’ भन्ने विश्वास दिलायो। त्यो विश्वासले उनको भविष्यको दिशा तय गर्याे।
एक वर्षपछि अक्षय पुनः स्पेनको बार्सिलोनामा बिजनेस स्टडिजमा स्नातकोत्तर अध्ययनका लागि बिदेसिए। युरोपको अनुशासन, व्यवसायको गहिरो अध्ययन र विविध संस्कृतिको स्पर्सले उनको सोचलाई अझ परिस्कृत बनायो। सन् २०१७ को अन्त्यमा नेपाल फर्किंदासम्म उनी अब केवल विद्यार्थी होइन, सोचमा परिपक्व र दृष्टिमा उद्यमी बनिसकेका थिए।
नेपाल फर्किएपछि उनले रिलायन्स स्पिनिङ मिल्समा काम सुरु गरे। पहिलो दिनदेखि उनले आफूलाई कुनै ‘प्रबन्धक’का रूपमा होइन, सिकारु ठाने।
धागो उत्पादनको मेसिनबीच बसेर कामदारसँग सिक्थे, बजारका डिलरसँग कुरा गर्थे र देशकै वस्त्र उद्योगका बारे अध्ययन, अनुसन्धान गर्थे। हो, यही विनम्रता र लगनले उनलाई विस्तारै नेतृत्वको मुख्य कुर्सीमा पुर्यायाे। सन् २०१८ मा रिलायन्सको सम्पूर्ण जिम्मेवारी अक्षयले लिए। त्यतिबेलादेखि गोल्याण समूहको नयाँ अध्याय सुरु भयो।

पुरानाको अनुभव र नयाँ पुस्ताको मिश्रणले गोल्याण समूहलाई रुपान्तरणको बाटोमा डोर्यायो। उनका बुबा पवन, काका शक्ति गोल्याणले विगतका दशकमै संस्थालाई सुदृढ बनाइसकेका थिए। अब अक्षयको जिम्मेवारी थियो, त्यसलाई आधुनिकतासँग जोगाउँदै नयाँ पुस्ताको सोचसँग जोड्ने।
‘व्यवसाय केवल नाफाको कुरा होइन, सामाजिक उत्तरदायित्व पनि हो,’ अक्षय भन्छन्। त्यसैले उनको समूहले कृषि, ऊर्जा र हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। नेपालका उत्पादनमूलक उद्योगलाई पुनः सशक्त बनाउने लक्ष्यसहित उनले काम सुरु गरे। अक्षय भन्छन्, ‘हामीले नेपालमा रोजगारी र उत्पादन दुवै बढाउन सक्छौं–यदि स्वदेशी उद्यमलाई आधुनिक दृष्टिले हे¥यौं भने।’
अक्षयको कार्यशैली फरक छ। उनी तडकभडकभन्दा प्रक्रिया र जनशक्ति सशक्तीकरणमा बढी जोड दिन्छन्। अक्षयका लागि बोर्ड रुमका निर्णय पनि मानवीय संवेदनासँग जोडिएका हुन्छन्। रिलायन्स स्पिनिङ मिल्समा उनले श्रमिकअनुकूल सुधार ल्याए, नयाँ तालिम प्रणाली सुरु गरे र कार्यस्थललाई पारदर्शी बनाउने कदम उठाए।
त्यो परिवर्तनले उत्पादन दर मात्र होइन, कर्मचारीको मनोबल पनि बढायो। उनको विश्वास छ–‘नेतृत्व भनेको निर्देशन होइन, प्रेरणा हो।’ त्यो विचार दैनिक व्यवहारमा समेत उतार्छन्।
कर्मचारीदेखि शीर्ष व्यवस्थापनसम्म जोसुकैसँग कुरा गर्दा अक्षयको व्यवहार आत्मीय हुन्छ। गोल्याण ग्रुप आज केवल उद्योगको नाम होइन, पारिवारिक मूल्यको प्रतिनिधि हो। उत्पादनदेखि वित्त, ऊर्जादेखि हस्पिटालिटीसम्म समूहको लगानी फैलिएको छ।
यी सबै क्षेत्रमा अक्षयको दृष्टि एउटै छ–‘दिगो विकास’। उनले नाफाभन्दा बढी, दीर्घकालीन प्रभावको सोच राख्छन्। त्यसैले उनी वातावरणमैत्री ऊर्जा, स्वदेशी कृषि प्रवद्र्धन र ग्रामीण उद्यममा जोड दिइरहेका छन्।
कहिलेकाहीँ अक्षय बिहानको उज्यालोमा ग्रुपको साइटमा पुग्छन, कामदारसँग हात मिलाउँछन् र भन्छन्–‘हामी सबै एउटै सपनाको हिस्सा हौं।’ त्यो व्यवहारले उनलाई केवल प्रबन्धक होइन, नेतृत्वकर्ताको स्थानमा पुर्याएको छ।
उनी आफूलाई कहिल्यै ‘अलग’ ठान्दैनन्–हरेक कर्मचारी, परियोजना, परिवारकै अंश ठान्छन्। उनको जीवनशैली पनि सादगीपूर्ण छ। शान्त भाषण, व्यवस्थित सोच र नापिएको आत्मविश्वासले उनी आफैंमा अनुशासनका उदाहरण हुन्। अक्षय बोल्दैनन्, प्रेरित गर्छन्।
अब गोल्याण ग्रुप तेस्रो पुस्ताको नेतृत्वमा अघि बढिरहेको छ।
हजुरबुबाबाट सुरु भएको यात्राले बुबा हुँदै छोरा अक्षयसम्म आइपुग्दा स्वरुप बदलेको छ– तर मूल्यहरू उही छन्। अक्षयका लागि त्यो मूल्य नै ग्रुपको मेरुदण्ड हो। ‘हाम्रो पहिचान नाफाले होइन, विश्वासले बनाएको हो,’ उनी भन्छन्।
नेपालमा व्यवसाय गर्न सहज छैन भन्ने कुरा उनी खुलस्त स्वीकार्छन्। सरकारी प्रक्रिया, नीतिगत अस्थिरता र पूर्वाधार अभावले धेरै उद्यमी निरास छन्। तर, अक्षय निरास हुनेमध्येका होइनन्। उनी भन्छन्, ‘हामीले धेरै देशमा पढ्यौं, काम ग¥यौं तर यहाँको सम्भावना अद्वितीय छ। समस्या भए पनि समाधान सम्भव छ, यदि इच्छाशक्ति हो भने।’
उनको नजरमा नेपालको भविष्य ऊर्जा र पर्यटनमा छ। जलविद्युत् क्षेत्रमा गोल्याण ग्रुपको लगानी विस्तार हुँदै छ र अक्षय यसलाई देशको दीर्घकालीन आत्मनिर्भरतासँग जोडेर हेर्छन्। ‘हामीले आयात गर्ने ऊर्जा घटाउन सके देशको अर्थतन्त्रका लागि ठूलो उपलब्धि हुन्छ,’ अक्षय भन्छन्, ‘नेपालको प्राकृतिक स्रोतलाई सही तरिकाले उपयोग गर्न सके युवाले विदेश जानुपर्दैन।’
गोल्याण गु्रपअन्तर्गतको पियोर इनर्जी नेपालमा हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादक सोलार कम्पनी हो। पियोरले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। यसको सञ्चालक समिति अध्यक्ष पनि उनै अक्षय हुन्। पियोरका अतिरिक्त गोल्याण गु्रपअन्तर्गत सोल पावर, पोजिटिभ इनर्जी, राप्ती ऊर्जा सौर्य ऊर्जा कम्पनी छन्। त्यसैगरी जलविद्युत्तर्फ बलेफी, अपर बलेफी, मिजु इनर्जी, एपोलो इनर्जी, केबीएनआर इसुवा पावर र इलाभेट इनर्जी रहेका छन्।
निर्यातमुखी उद्योग र अग्र्यानिक कृषि गोल्याण ग्रुपका मेरुदण्ड हुन्। त्यसैले त जनता एग्रो एन्ड फरेस्ट्रीमार्फत उसले कृषि क्षेत्रमा आफ्नो सुदूर–यात्रा सुरु गरेको छ। कृषि क्षेत्रको विकासबाटै बहुसंख्यक किसानलाई व्यावसायिक उत्पादनमा जोड्न सकिने र त्यसले देशको अर्थतन्त्रमा टेवा पु¥याउने उनको विश्वास छ। ‘अग्र्यानिक कृषि हाम्रो प्राथमिकतामा पर्दै आएको छ,’ उनी भन्छन्। गोल्याण गु्रपले अग्र्यानिक कृषिमा कार्यरत व्यवसायी र किसानसँग सहकार्य गर्दै आशापुरी, माटो र कमर्सियल फार्मिङमा फड्को मारिरहेको छ।
पर्यटनको पूर्वाधार हो, हस्पिटालिटी। यसलाई दृष्टिग गर्दै अक्षय नेतृत्वको गोल्याण ग्रुपले हस्पिटालिटी क्षेत्रमा आफ्नो पाइला अघि बढाएको छ। काठमाडौंमा ह्यात सेन्ट्रिक सञ्चालनमा ल्याएको ग्रुपले लुम्बिनीमा पनि ह्यात रिजेन्सी निर्माण गर्दै छ। ‘हस्पिटालिटीले हरेक पाहुनाको हृदय छुनुपर्छ। यही कुरालाई हृृृृृदयंम गरेर हामीले हस्पिटालिटीमा ध्यान दिइरहेका छौं,’ उनी भन्छन्।
गोल्याण गु्रप अहिले नेपालको मूल्य–मान्यता, संस्कृति, आतिथ्य र सम्पदाको प्रतिनिधित्व गर्दै विश्वव्यापी समूह बन्ने यात्रामा अघि लम्किइरहेको छ। नेपालको उद्योगको उत्कृष्टता र आर्थिक विकासलाई प्रवद्र्धन गर्दै आत्मनिर्भर विकास मोडल सिर्जना गर्ने उसको उद्देश्य हो। ग्रुपअन्तर्गत अहिले करिब १० हजार व्यक्तिले श्रम र रोजगारी अवसर पाएका छन्। युवा शक्ति रोजगारी खोजीमा बिदेसिनु परिरहेको देशको विडम्बनाबीच यो आफैंमा आशाको उज्यालो दीप हो। अक्षय भन्छन्, ‘हरेक नेपालीको जीवन सुखी र मुलुक समुन्नत बनोस् भन्ने पवित्र ध्येयमा हामीले आप्mना तर्फबाट गरेको योगदान भविष्यमा अझ बढ्दै जानेछ।’
गोल्याण ग्रुपले केवल पारम्परिक व्यवसायमै सीमित नभई नयाँ प्रविधि र नवीन सोच पनि अँगालेको छ । अक्षय भन्छन्, ‘हामी पुरानो ढाँचा मात्र दोहो¥याउने होइन, नयाँ मोडल सिर्जना गर्ने सोचमा छौं। युवा पुस्ताको दृष्टि त्यही हो–दक्षता, पारदर्शिता र नवीनता।’
अक्षय आफैं युवाशक्ति र टिमवर्कमा विश्वास गर्छन्। उनी कार्यशैलीमा औपचारिकताभन्दा आपसी समझदारी र प्रेरणामा जोड दिन्छन्। सहकर्मी र टिम सदस्यले अक्षयलाई पहुँचयोग्य र समझदार नेता मान्छन्। उनी भन्छन्, ‘नेता हुनु भनेको आदेश दिनु होइन, सुन्न जान्नु हो। सबैलाई अपन्त्व दिलाउन सके मात्र टिम बलियो बन्छ।’
बुबासँगको सम्बन्धबारे सोध्दा अक्षय हाँस्दै भन्छन्, ‘हामीले कहिल्यै प्रतिस्पर्धा गरेका छैनौं। उहाँसँगको कुरा अनुभव आदान–प्रदान हो। बुबाले बनाएको जगमा हामी नयाँ इँटा थप्दै छौं। फरक सोच राख्नु स्वाभाविकै हो तर, त्यो सम्मानपूर्वक हुनुपर्छ।’
विदेशमा सहज जीवन जिउन सकिने भए पनि उनले नेपालमै काम गर्ने निर्णय गरे। त्यसको कारण सोध्दा उनको जवाफ सरल र गहिरो छ–‘म सधैं सोच्थें, जहाँ जन्में, त्यहाँ केही फर्काउनुपर्छ। देशमा बस्ने, समस्या देख्ने र त्यसको समाधानमा सँगै लाग्ने कुरा मन पर्छ। देशमा परिवर्तन हुन्छ भने ‘एभ्रिथिङ इज वर्थ इट’।’
अक्षयको सोच देशभक्तिपूर्ण मात्र होइन, व्यावहारिक पनि छ। उनी भावनात्मक कुरा गर्छन् तर, निर्णय सधैं तर्क र तथ्यमा आधारित हुन्छ। यही गुणले उनलाई नयाँ पुस्ताका व्यवसायीबीच आदर्श बनाएको छ। धेरै युवाले उनलाई रोल मोडलका रूपमा हेर्छन् किनकि उनी आधुनिकता र मुलुकप्रतिको निष्ठा दुवैसँग बाँधिएका छन्।

दैनिक जीवनमा उनी साधारण छन्। उनलाई फुटबल हेर्न मन पर्छ, घुम्न मन पर्छ र परिवारसँग समय बिताउन चाहन्छन्। उनका लागि सन्तुलन महत्त्वपूर्ण छ–‘कामको दबाब त हुन्छ, तर जीवनमा सन्तुलन जरुरी छ। परिवारले दिएको साथ र सन्तुलनकै कारण अझ जिम्मेवारी महसुस गर्छु।’
कम्पनीमा उनी नयाँ पुस्तालाई नेतृत्वका अवसर दिन उत्साहित छन्। अक्षय भन्छन्, ‘हामीले यदि युवालाई जिम्मेवारी दिन डरायौं भने भविष्य नै रोकियो। गल्ती गर्ने ठाउँ दिनुपर्छ, किनभने त्यहीबाट सिकाइ हुन्छ।’ यही कारण गोल्याण ग्रुपमा युवा नेतृत्व क्रमशः बढ्दै गएको छ–नयाँ सोच, नयाँ ऊर्जा, र नयाँ प्रविधिको सहकार्यमा।
अक्षयका अनुसार भविष्यमा व्यवसायको अर्थ फेरिनेछ। केवल बजार र नाफा होइन, त्यसको प्रभाव नै मुख्य सूचक हुनेछ। ‘हामीले यस्तो काम गर्नुपर्छ, जसले समाजमा सकारात्मक छाप छोडोस्। जब तपाईंको कामले अरूको जीवनमा केही राम्रो ल्याउँछ, त्यो नै वास्तविक सफलता हो।’
अक्षयको दृष्टि नेपालको आर्थिक सम्भावनासँग जोडिएको छ। उनी विश्व बजारका ट्रेन्ड, डिजिटल परिवर्तन र हरित अर्थतन्त्रलाई एकैसाथ पढिरहेका छन्। उनको लक्ष्य स्पष्ट छ–गोल्याण ग्रुपलाई आधुनिक, उत्तरदायी र अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने। तर, त्यो यात्रा उनी एक्लै होइन, सम्पूर्ण टिम, परिवार र देशकै साझा यात्राका रूपमा हेर्छन्।
अक्षयमा समयलाई चिन्ने र त्यसको पदचापसँग हिँड्न सक्ने खुबी छ। पछिल्लो समय जेनजी पुस्ताको विद्रोहबाट भएको परिवर्तनले उनलाई पनि छोएको छ। उक्त पुस्ताले देखेको सपना र दिएको बलिदानीलाई सम्मान र संरक्षण गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले उहाँहरूको योगदानलाई स्मरण गर्दै राष्ट्रको समृद्धि र विकासमा लाग्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ,’ उनी भन्छन्।
निर्यातमुखी उद्योग र अग्र्यानिक कृषि गोल्याण ग्रुपका मेरुदण्ड हुन्। त्यसैले त जनता एग्रो एन्ड फरेस्ट्रीमार्फत उसले कृषि क्षेत्रमा आफ्नो सुदूर–यात्रा सुरु गरेको छ। कृषि क्षेत्रको विकासबाटै बहुसंख्यक किसानलाई व्यावसायिक उत्पादनमा जोड्न सकिने र त्यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउने उनको विश्वास छ।
त्यसैले त अक्षय नेतृत्वको गोल्याण ग्रुपले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई शिक्षा र स्वास्थ्यमार्फत सहयोग गर्ने नीति लिएको छ। ‘हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन। तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर दुःखमा साथ दिन चाहन्छौं’, उनी भन्छन्, ‘यो परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूतिसहितको प्रतिबद्धता हो। परिवर्तनका लागि उभिएका युवा एक्ला थिएनन् र तिनका परिवार पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो।’
अक्षय अब नेपालका युवा पछाडि फर्किनुहुँदैन भन्ने मान्यता राख्छन। ‘हामीसँग दिमाग छ, साहस छ, र सञ्जाल पनि छ। अब चाहिएको कुरा हो–इमानदारी र निरन्तरता,’ उनी भन्छन्।