काठमाडौं। प्रतिस्पर्धी भित्रिने भएपछि यातायात व्यवसायीहरुले यात्रुलाई सकसमा पारेर आन्दोलनमा उत्रिएका छन्। सेवामा गुणस्तर नदिने र यात्रुलाई मर्कामा पारेरपछि पछिल्लो समय यात्रुहरुले बैंकल्पिक सवारी साधनको प्रयोग बढाउन थालेसँगै यातायात व्यवसायीहरुले विरोध स्वरुप आन्दोलन सुरु गरेका हुन्।
गण्डकी प्रदेश सरकारले मिति २०८२/२/१ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो प्लेट राखेर भाडामा सञ्चालन गर्न अनुमति दिएसँगै त्यसको विरोधमा व्यवसायीहरुले मुलुकभर आन्दोलन सुरु गरेको हो।
सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ।
यातायात क्षेत्रमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ गण्डकी प्रदेशले कालो प्लेटलाई सवारी सञ्चालनको अनुमति दिएपछि आफूहरुको एकाधिकर तोडिने त्रास यातायात व्यवसायीहरुले लिएका छन्। गण्डकी प्रदेशबाट सुरु भएको कालो प्लेट सञ्चालन अन्य प्रदेशमा पनि हुन सक्ने आशंकाबीच त्रसित भएर यातायात व्यवसायीले आन्दोलन गर्दा यात्रुहरुले दुःख पाइरहेका छन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सिण्डिकेटमा रमाउन चाहने व्यवसायीहरुले आन्दोलन गरेर यात्रुलाई दुःख दिइरहेको भन्दै सरकारले आवश्यक कारवाही अगाडि बढाउनुपर्ने बताउँछन्। ‘आफू अनुकूलको नीति नभएको र अरुलाई प्रवेश गर्न नदिने उद्देश्यले यातायात व्यवसायी आन्दोलनमा उत्रिनु गलत छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘अहिलेको नीतिबाट सरकार पछि हट्न हुँदैन।’
अहिलेको अवस्थामा आएर पनि मुलुकमा सिण्डिकेट लागू गरी यातायात व्यवसायीहरुले आन्दोलन गरेर यात्रुहरुलाई दुःख दिँदा कानुन उल्लघंन भएको छ।
प्रतिस्पर्धी भित्रिने र आफूहरुको सिण्डिकेट तोडिने डरले अहिले यातायात व्यवसायी आन्दोलनमा उत्रिएकाले यसलाई सरकारले तत्कालै कानुनी कारवाहीमा ल्याएर यात्रुहरुलाई सहज बनाउन आवश्यक रहेको उनको भनाइ छ।
अहिलेको अवस्थामा आएर पनि मुलुकमा सिण्डिकेट लागू गरी यातायात व्यवसायीहरुले आन्दोलन गरेर यात्रुहरुलाई दुःख दिँदा कानुन उल्लघंन भएको छ। जसका कारण तत्कालै कानुनी कारवाहीमा ल्याएर सहज रुपमा यातायातका साधनहरु चल्ने वातावरण सरकारले बनाउनुपर्ने यात्रुहरुको भनाइ छ।
गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले व्यवसायीहरुसँग ऐनको विषयमा छलफल गर्ने तर फिर्ता नहुने बताइसकेका छन्। आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई वार्तामा बोल्दै मन्त्री केसीले ऐन फिर्ता नहुने स्पष्ट पारिसकेका छन्।
पोखराबाट सुरु भएको आन्दोलन देशभर फैलिँदै
कानुन संशोधन गरी कालो नम्बर प्लेटलाई पनि यात्रु बोक्न दिने व्यवस्था गरेपछि गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबारबाटै व्यवसायीहरुले अनिश्चित कालका लागि यातायात बन्द गरेर सुरु गरेको आन्दोलन अहिले देशका विभिन्न ठाउँमा सुरु भएको छ। शनिबार ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा विरोध र्यालीको आयोजना गरेको थियो।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रदेश सरकारले यसरी छुट्टै नियमावली ल्याउन नहुने बताउँछन्। गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनुपर्ने माग अघि सारिएको बताए।
सोमबारबाट अरनीको राजमार्ग र पुष्पलाल मार्गमा चल्ने अरनीको यातायात र रोल्वालिङ यायातले सूचना जारी गर्दै सोमबारदेखि अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ।
सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको २०८० चैत्र २० गतेको परमादेश तत्काल कार्यान्वयन हुनुपर्ने, सवारी ऐन २०४९ संशोधन क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
सोमबारदेखि मुख्य राजमार्ग बन्द
सोमबारबाट अरनीको राजमार्ग र पुष्पलाल मार्गमा चल्ने अरनीको यातायात र रोल्वालिङ यायातले सूचना जारी गर्दै सोमबारदेखि अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ। सरकारले आफूहरुले राखेको माग पूरा नगरेसम्म सेवा बन्द रहने घोषणा विज्ञप्तीमार्फत गरेका छन्।