काठमाडौं। अनावश्यक माग राखेर यातायात ठप्प पार्ने र यात्रुलाई दुख दिए सरकार चुप लागेर नबस्ने यातायात व्यवस्था विभागले जनाएकाे छ। यात्रुकाे आवातजावातलाई सहज बनाउने काम सरकारकाे भएकाले जबरजस्ती यातायात बन्द गरे त्यसकाे क्षतिपूर्ति व्यवसायीले नै भाेग्नु पर्ने महानिर्देशक राजिव पोखरेलले बताए।
सार्वजनिक यातायात व्यवसायीले १९ गते देशभर सवारी साधान यातायात बन्द गर्ने भएपछि सरकारले व्यवासायीसँग समन्वय गर्ने भन्दा भन्दै बन्दकाे बाटाे राेजे सरकारले साेही अनुरूप कार्य गर्ने उनकाे भनाइ छ। महानिर्देशक पोखरेलले सार्वजनिक यातायात व्यवसायीहरुसँग आफूले समन्वय गर्ने बताएका हुन्।
‘सार्वजनिक यातायात भोलिदेखि बन्द गर्ने समाचार आइरहेको छ,’ उनले भने, ‘हामी मन्त्रालय, प्रदेश सरकार र सार्वजनिक यातायात व्यवसायीहरुसँग भोलि छलफल गर्ने छौँ, यातायात ठप्प नगर्न आग्रह गर्ने छौँ।’ आइतबार सार्वजनिक यातायात व्यवसायीले एक संयुक्त विज्ञप्ति जारी गर्दै १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन्।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले सोमबारबाट सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।
गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी आन्दोलनरत छन्।