काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्युटबाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना साेमबार भित्र हटाउन निर्देशन दिएको छ।
‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्य भन्दै प्रचार प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि अब कारबाही गर्ने भएको छ। श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ।
विभागले आज सूचना जारी गर्दै उक्त काममा भ्रम सृजना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न आग्रह गरेको छ। उक्त सूचनाको बर्खिलाफ गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।
त्यसैले यस्ता किसिमका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका प्रचार सामग्री सोमबारसम्म हटाउन सम्बन्धित व्यवसायी, साइबर सेन्टर तथा संस्थालाई निर्देशन दिइएको हो। विभागले आउँदो सोमबारभित्र यस्ता सामग्री नहटाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।