काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत महँगा मदिरामा कर बढाएपछि अधिकांश आयातकर्ताले आयात बन्दको तयारी थालेका छन्। राजस्व संकलनको नाममा सरकारले अत्यधिक कर बढाएपछि महँगा ब्रान्ड ब्लु लेबल र रोयल सेलुटको आयात बन्द गर्ने तयारीमा आयातकर्ता पुगेका हुन्।
सरकारले बजेटमा ती दुवै ब्रान्डको मदिरामा बोतलकै १६ हजार रुपैयाँ कर बढाएको छ। योसँगै अब नेपाली बजारमा ब्लु लेबलको मूल्य ४६ हजार पुग्नेछ। बजेटअघि ब्लु लेबलको मूल्य ३० हजार रुपैयाँ थियो। यस्तै, रोयल सेलुटको मूल्य पनि ३० हजारबाट बढेर ४६ हजार रुपैया पुगेको छ।

हाल नेपालमा ब्लु लेबल वर्षको १ हजार ५ सय र रोयल सेलुट ६०० सय लिटर बिक्री हुँदै आएको थियो। ब्लु लेबल नेपालमा विशाल ग्रुपले बिक्री गरिरहेको छ भने रोयल सेलुट शारडा ग्रुपले बेचिरहेको छ।
बजेटले अत्यधिक कर बढाएपछि दुवै आयातकर्ताले नेपालमा ती मदिरा बिक्री बन्दको तयारी थालेका छन्। ‘करको दर उच्च बढेपछि मदिरा बिक्री गर्न सक्ने स्थितिमा हामी रहेनौं,’ एक आयातकर्ताले क्यापिटल नेपालसँग भने, ‘अब हामी वैधानिक रुपमा नेपालमा आयात रोक्दै छौं।’
सरकारले राजस्व संकलन हुने प्रमुख माध्यम मदिरालाई मात्र राखेको भन्दै जति करमा कस्यो, उति नै चोरी तस्करी बढिरहेको ती आयातकर्ताको भनाइ छ। सरकारले हरेक वर्ष मदिरामा कर बढाउँदा नेपालमा मदिराको मूल्य अधिक हुँदै आएको छ। सोही कारण नेपालमा भन्दा भारतमा सस्तो मदिरा पाइने गरेको छ।

भारतमा सस्तो मदिरा पाइने भएपछि पछिल्लो केही वर्षदेखि चोरी तस्करीमार्फत आइरहेको छ। यसरी चोरी तस्करीमार्फत मदिरा आउँदा सरकारले राजस्व गुमाउँदै आएको छ। वैधानिक रुपमा आउने मदिराको कर बढाउने र चोरी तस्करी रोक्न सरकार निरीह बन्दा धेरै आयातकर्ता समस्यामा परिरहेको मदिरा उत्पादक संघको भनाइ छ।
‘हामीले पटक–पटक सरकारलाई मदिराको कर नबढाउन अनुरोध गर्दा पनि बेवास्ता गर्दै आएको छ,’ मदिरा उत्पादक संघका पूर्वअध्यक्ष रवि केशीले भने, ‘यसले सरकारलाई फाइदा हुँदैन, व्यवसायीलाई धेरै घाटा हुन्छ।’