पोखराको लेकसाइडमा फैलिँदै गएको चहलपहलसँगै उदाएको छ, सफल व्यावसायिक कथा- चिल्ली ग्रुप। यो केवल एउटा व्यावसायिक समूह मात्र होइन, विश्वराज पौडेल र भीष्मराज पौडेल नामका दुई दाजुभाइको साझा सपना, पारिवारिक एकता र आफ्नो माटोप्रतिको अटुट विश्वासको जीवन्त गाथा हो। उमेरले मात्र ६ वर्षको फरक। विश्व ५६ वर्ष र भीष्म ५० का भए तर, उद्देश्य प्राप्तिको गोरेटोमा समानान्तर छन् पाइला।
एकअर्कालाई दिने आँट, साथ र भरोसाले दुवैलाई बलियो बनाएको छ। एकपछि अर्को व्यावसायिक सफलताले गति लिँदै छ। दुई अर्ब रुपैयाँभन्दा बढी लगानी, सयौंको रोजगारी र दर्जनौं व्यवसायिक उपक्रमको सफल सञ्चालनमार्फत चिल्ली ग्रुपले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याउँदै आएको छ।
सुरुआतको कथाः चितवनदेखि लेकसाइडसम्मको यात्रा
विश्वराजको बाल्यकाल चितवन बित्यो। हजुरबुबा पण्डित थिए, बुबा गोविन्द शर्मा बिर्खची शिक्षक र सामाजिक व्यक्तित्व। पोखरामा पुर्ख्यौली सम्पत्ति त टन्नै थियो तर उब्जाउयोग्य जमिन कम थियो। उनका बुबाका तीन जना दाजुभाइ। त्यतिबेलाको बैदाम क्षेत्र लेकसाइड बनिसकेको थिएन। खेतीपाती, दाउराघाँसका लागि तालपारि जानुपर्थ्यो। यहाँको जीवन कष्टकर भएकाले विसं २०२० मा उनका बुबा र कान्छा बुबा चितवनको मेघौलीतिर लागे। उतै जग्गाजमिन जोडेर बसे। पुर्ख्यौली सम्पत्ति पोखरामा छँदै थियो।

विश्वराजको बाल्यकाल चितवनमै बित्यो। यही पृष्ठभूमिमा उनले जीवनका प्रारम्भिक पाठ सिके। २०४१ मा एसएलसी पास गरेपछि १९ वर्षको उमेरमा उनले चितवनको नारायणी सफारी होटलमा एकाउन्टेन्टको रूपमा पेसागत यात्रा थाले। त्यसपछि पोखराको सांग्रिला भिलेज रिसोर्टमा एकाउन्ट म्यानेजरको भूमिका निर्वाह गर्दै अनुभव हासिल गर्दै गए। जागिर जीवनमा रहिरहँदा उनलाई सन् १९९९ मा उच्च शिक्षा र रोजगारीको सपनासहित बेलायत पुग्ने रहर जाग्यो र बेलायत पुगे, जहाँ पाँच वर्ष बिताए।
त्यसैबेला भाइ भीष्मसँगको कुराकानीमा पोखरामा पर्यटकीय चहलपहल बढ्दै गएको व्यवसाय सुरु गर्ने विषयमा केन्द्रित कुराकानी अलि बढी हुन थाले।
अर्थशास्त्रमा स्नातकोत्तर उनले व्यावसायिक एवं सामाजिक संघ-संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गरिरहेका छन्। हाल उनी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराका अध्यक्ष हुन्।
स्वदेश फर्काइ र नयाँ सुरुआत
विश्वराज २००४ मा बेलायतबाट फर्किए। स्वदेशमा भन्दा विदेशमा भविष्य देखिरहँदा भाइ भीष्मसँग आफ्ना दुःखसुखका कुरा भइरहन्थे। केही रहर र केही सपना पूरा भए र हुँदै पनि थिए। बाँकी जीवन परिवारका साथ बेलायतमै बिताउने योजना पनि तय हुँदै थियो। त्यसैबेला भाइ भीष्मसँगको कुराकानीमा पोखरामा पर्यटकीय चहलपहल बढ्दै गएको व्यवसाय सुरु गर्ने विषयमा केन्द्रित कुराकानी अलि बढी हुन थाले।

पुर्ख्यौली सम्पत्ति पनि भएकाले लेकसाइडमा कस्तो व्यवसाय गर्दा उपयुक्त हुने हो, एकअर्काले आ-आफ्ना योजना सुनाउने क्रम जारी रह्यो। भाइ भीष्मराजले पोखरामा काकासँगै बसेर पढिरहेका थिए। लेकसाइडको चहलपहललाई नजिकबाट नियालिरहेका कारण पनि दाजुलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराइरहन्थे।
बुबा गोविन्द शर्मा बिर्खर्चीले पुर्ख्यौली सम्पत्तिमा छोराहरूले केही गरे हुन्थ्यो भन्ने चाहना बारम्बार राख्नुहुन्थ्यो। यी र यस्तै कतिपय कुराले विदेशको चमकलाई पन्छाउँदै आफ्नै माटोमा सम्भावना देख्न थालेपछि विश्वराज फर्किए, स्वदेश।
बुबाआमाको चाहना अनि भाइसँगको सहकार्यमा पुर्ख्यौली सम्पत्तिको उपयोग गर्दै पोखराको लेकसाइडमा पर्यटन व्यवसाय सुरुआत गरे। सन् २००६ मा ‘चिल्ली ग्रुप’को जग बस्यो। २००८ मा करिब १ करोड रुपैयाँ लगानीमा चिल्ली बार रेस्टुरेन्ट सञ्चालनमा आयो।

विश्वराज र भीष्मराजको साझा दृष्टिकोणले जन्माएको चिल्ली ग्रुपले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याएको छ। चिल्ली बार एन्ड रेस्टुरेन्ट, ३६० स्काई लाउन्ज एन्ड बार, हिमालय ग्लोरी इन, हिमालय गेस्टहाउस र टेम्पल बेल बुटिक होटल एन्ड स्पाजस्ता व्यवसाय यस समूहले सञ्चालन गरेको छ। हाल करिब २ अर्ब रुपैयाँ लगानी भएको यो समूहले १५० बढी व्यक्तिलाई रोजगारी दिएको छ।
नेपाली कला, संस्कृति र आतिथ्यलाई समेटेर निर्मित यो होटल स्वदेश र विदेशी पर्यटक लक्षित गर्दै विशेष प्याकेजका साथ सञ्चालन भइरहेको छ।
२०२१ मा सुरु भएको ‘टेम्पल बेल बुटिक होटल एन्ड स्पा’को निर्माण कोभिड महामारीका चुनौतीबीच साढे तीन वर्षमा सम्पन्न भयो। १ अर्ब २५ करोड लगानीमा बनेको यो होटलले ५५ सुसज्जित कोठा, स्वीमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेन्ट र वातावरणमैत्री डिजाइनसहित मिडिल र हाई-एन्ड पर्यटकलाई लक्षित गरेको छ। नेपाली कला, संस्कृति र आतिथ्यलाई समेटेर निर्मित यो होटल स्वदेश र विदेशी पर्यटक लक्षित गर्दै विशेष प्याकेजका साथ सञ्चालन भइरहेको छ।
चिल्ली ग्रुपको व्यावसायिक सफलतासँगै भीष्मराज पौडेलको सामाजिक कार्यले उत्तिकै महत्त्व राख्छ। भीष्मराज पर्यटन क्षेत्रमा आउनुअघि एक जर्मनी एनजीओ काम गर्थे। हिमाली बालकल्याण संरक्षण मञ्चमा उनको १० वर्ष लामो अनुभव रह्यो। योसँगै उनी खेल क्षेत्रमा पनि सक्रिय छन्। उनी कास्की जिल्ला टेनिस संघको सचिवसमेत हुन्।
एकाउन्टेन्ट, सुपरभाइजर हुँदै प्रोजेक्ट म्यानेजरको जिम्मेवारीलाई कुशलता साथ सम्पन्न गरेका भीष्मराज बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर हुन्। उनले २००३ मा ‘नमस्ते सामुदायिक फाउन्डेसन’ स्थापना गरे, जसले हालसम्म १२५ बालबालिकालाई संरक्षण र अवसर दिएको छ। करिब २५० बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकेको छ। यसका अलावा महिला सशक्तीकरणअन्तर्गत एकल र विपन्न महिलालाई पनि सहयोग गर्दै आएको छ।
साझा सोच
एकल स्वामित्वभन्दा साझा स्वामित्वप्रति विश्वास र अटुट कर्मले पौडेल दाजुभाइलाई व्यवसायमा सफलतामा मिल्दै गएको छ। दुवैसँग भिन्न किसिमका व्यावसायिक गुण छन्। एकअर्काको योजना सुन्ने एवं त्यसले तत्काल र दीर्घकालीन कस्तो असर पार्छ भनेर घनिभूत छलफल गरेर निष्कर्ष निकाल्ने दुवै माहिर छन्।
दाजु विश्वराजमा सरल, मिजासिलो स्वभाव र कुनै निर्णयअघि निकै सोचविचार गर्ने बानी छ, जुन भीष्मलाई असाध्यै मन पर्छ। कहिलेकाहीँ दाजु विश्वको छिटो रिसाइहाल्ने तर तुरुन्तै पूर्ववत् अवस्थामा आइहाल्ने स्वभावले दाजुभाइबीचको सम्बन्धलाई झनै नजिक बनाएको छ।
त्यसो त, भाइ भीष्ममा आफूले भनेको र सोचेको कुरालाई तुरुन्तै गरिहाल्नुपर्छ भन्ने केही जिद्धी स्वाभाव भए पनि क्रियटिभ र नवीनत सोचमा भाइको क्षमताको खुलेर प्रशंसा गर्छन्, दाजु विश्वराज। स-सानो कुरामा पनि सरसल्लाह गर्ने, हरेक कुरालाई व्यवस्थित र पारदर्शी रुपमा लैजान सफल दुइभाइको सहकार्यलाई बलियो बनाएको छ। ‘दाइको इमानदारी, परिवारप्रतिको उत्तरदायित्व, माया र पारदर्शिता नै हाम्रो बलियो सम्बन्धको आधार हो’, भीष्मराज भन्छन्।
बुबाआमाको आशीर्वादलाई शिरमा राखेर व्यावसायिक यात्रामा जुटेका पौडेल दाजुभाइको एउटा चाहना भने अधुरो नै रह्यो।
दाजुभाइद्वयको अबको लक्ष्य गुणस्तरीय सेवा प्रदान गरी पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन पहल गर्ने र युवा पुस्तालाई ज्ञान एवं सीप हस्तान्तरण गर्नु रहेको छ। आफ्नो पुस्ताले सुरु गरेको पर्यटन व्यवसाय आउँदो पुस्तालाई हस्तान्तरण गर्दै लैजाने सोचअनुरुप अहिले विश्वका २५ छोरा वर्षीय विशालराज पौडेलले पनि चिल्ली ग्रुपअन्तर्गतका व्यवसायको अपरेसन र सेल्स डिपार्ट सम्हालेका छन्।
बुबाआमाको आशीर्वादलाई शिरमा राखेर व्यावसायिक यात्रामा जुटेका पौडेल दाजुभाइको एउटा चाहना भने अधुरो नै रह्यो। नवनिर्मित टेम्पलवेल बुटिक होटल निर्माणकै क्रममा बुबाको निधन भयो। बुबा र आमाको बाहुलीबाट नवनिर्मित होटल उद्घाटन गर्ने योजना साकार हुन पाएन। बुबा गोविन्द शर्माको तीन वर्षअघि निधन भयो।
चिल्ली ग्रुपको संरक्षकका रुपमा आमा ज्ञानुदेवी पौडेल छन् भने अध्यक्षमा विश्वराज पौडेल, म्यानेजिङ डाइरेक्टरमा भीष्मराज पौडेल र दोस्रो पुस्ताका रुपमा विश्वराजका जेठा छोरा विशालराज पौडेलले डाइरेक्टरको जिम्मेवारी वहन गरिरहेका छन्। कान्छा छोरा फ्रान्समा अध्ययनरत छन्। भीष्मराजका एक छोरा र एक छोरी छन्। दुवैको व्यावसायिक सफलताको पछाडि श्रीमतीले विशेष भूमिका खेलिरहेका छन्।
विश्वराज र भीष्मराज दाजुभाइको कथा केवल व्यावसायिक सफलताको उदाहरण मात्र होइन, यो पारिवारिक एकता, साझा सपना र आफ्नो माटोप्रतिको अटुट विश्वासको जीवन्त गाथा हो। चिल्ली ग्रुपमार्फत पोखराको पर्यटन क्षेत्रमा उनीहरूले स्थापित गरेको उचाइले नेपालको पर्यटन सम्भावनाको ढोका खोलिदिएको छ। यो यात्राले निजी क्षेत्रको लगानी, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वले कसरी दिगो विकासमा योगदान पुर्याउन सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ।
भोलिको बाटो : पोखरालाई विश्वस्तरीय गन्तव्य बनाउने दृढ संकल्प
चिल्ली ग्रुपको सफलताको कथाले नेपालको पर्यटन नीतिको उद्देश्यलाई मूर्त रुप दिएको छ-निजी क्षेत्रको लगानी, पूर्वाधार विकास, गुणस्तरीय सेवा र दिगो पर्यटन। अबको लक्ष्य पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउनु र युवा पुस्तामा ज्ञान तथा सीप हस्तान्तरण गर्नु हो।
पौडेल दाजुभाइको प्रेरणादायी यात्राले भावी पुस्तालाई आफ्नै माटोमा सम्भावना खोज्ने साहस र प्रेरणा दिएको छ। निजी लगानी, नवीन सोच र सामाजिक उत्तरदायित्वको संयोजनले कसरी दिगो पर्यटन विकास सम्भव छ भन्ने सन्देश दिन सफल भएको यो कथा नेपाललाई विश्व पर्यटनको नक्सामा बलियो रूपमा उभ्याउने सपनासँग जोडिएको छ।